इटहरीः सुनसरीको इनरुवा नगरपालिकामा फेला परेका एकै परिवारका नौ जना कोरोना सक्रमितमध्ये तीन दिनको अवधिमा दुई जनाको ज्यान गएको छ ।

इनरुवा ३ घर भएका कोरोना संक्रमित परिवारका नौ जनामा कोरोना सक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर उपचार गर्ने क्रममा परिवारको जेष्ठ सदस्य आमाको तीन दिनअघि र छोराको आन मध्याह्न ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार परिवारका सबै सदस्यलाई कोरोना सक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने क्रममा आमाको तीन दिनअघि ज्यान गएको थियो । आमाको मृत्यु भएको दिन अक्सिजनको सर्पोटमा बसेका छोरालाई श्वासप्रस्वासमा समस्या भएपछि कोसी कोभिड १९ अस्पताल विराटनगर भर्ना गरिएको थियो । परिवारका अन्य सदस्यहरुलाई अक्सिजनको सर्पोट आवश्यकता भए नभएको बारे जानकारी लिएर उपचारमा सहयोग गरिरहेको छिमेकी तथा आफन्तजनले जनाएका छन् ।

यसैगरी, मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा २५ मिनेटको फरकमा तीन जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । विराटनगर महानगरपालिकामा कार्यरत विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षीय नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको उपचारको क्रममा मृत्यु भएको अस्पताकलका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार घिमिरेमा पाँच दिनअघि कोरोना पुष्टि भएकोमा स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना गरिएको थियो । घिमिरेको मृत्यु भएको पाँच मिनेटपछि सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक दाहालले बताए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या देखिएको थियो । दोस्रो कोरोना संक्रमितको मृत्यु भएको २५ मिनेटपछि नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ । उनका अनुसार कोरोना पुष्टि भएपछि उपचारार्थ शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएका महोत्तरी – ६ का ३५ वर्षीय पुरुषको ज्यान गएको हो ।