इटहरीः सुनसरीको सदरमुकाम समेत रहेको इनरुवमा नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र चौकलाई प्रतिबन्धित क्षेत्र घोषित गरी सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चौक क्षेत्रलाई सिल गर्ने घोषणा गरेको जानकारी दिएको छ । सो ठाउँमा केही दिनअघि कोरोना संक्रमणका कारण एक जना महिलाको मृत्यु भएको थियो । यस्तै आज पुनः सोही ठाउँमा कोरोनाका कारण एक जनाको मृत्यु भएपछि इनरुवा नगरपालिकाले सो ठाउँलाई सिल गर्न पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासनले सिल गर्न आदेश दिएको हो ।
योसँगै जिल्ला प्रशासन कार्यालयले नगरपालिकालाई उचित समन्वय गरी कोभिड १९ का लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयलाई पनि आवश्यक समन्वय गरी सुरक्षाका सामग्री व्यवस्थापन गर्न निर्देशन दिएको छ ।