बेलबारी / मोरङको केराबारी गाउँपालिका र बेलबारी नगरपालिका जोड्ने बेलचौरी घंघरु पुल बनिनसक्दै अलपत्र बन्न थालेको छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा पुल निर्माणको लागि केन्द्रीय योजनामार्फत् बजेट आएर काम थाले पनि पिल्लर बनाउनेभन्दा बढी काम हुन सकेको छैन । पुल निर्माणको लागि निलगिरी कम्पनीले ३ वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कामको प्रगति भने कछुवाको तालमा रहेको छ ।
पुल निर्माण लथालिंग भएपछि स्थानीय बासिन्दालाई वर्षात्को समयमा आवतजावत गर्न कठिनाइ पर्ने गरेको छ । पुल नबन्दा केराबारी–९ का भलुवा, घंघरु, लाखलगायतका बासिन्दालाई बेलबारी आवतजावतमा समस्या हुने गरेको छ ।
कम्पनीले काम नथाल्दै बेपत्ता भएपछि निर्माण कार्य अधुरो रहेको स्थानीयको भनाइ छ । सो पुल निर्माणको लागि ३ करोड ६० लाखको बजेट रहेको थियो । कामलाई गति दिनका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण भएको थियो । अनुगमन समितिले ठेकेदार र कम्पनीलाई पटकपटक ताकेता गरे पनि ठेकेदारले काम नगरेको स्थानीय अनुगमन समितिको भनाइ छ ।
गत केही महिना ठेकेदारले कामदारलाई पठाएर काम गरे पनि अहिले काम नभएको अनुगमन समितिका अध्यक्ष गुरुङले बताए । खोलामा निर्माणका लागि ल्याएका निर्माण सामग्रीहरु यत्रतत्र छाडेर कामदार पनि सम्पर्कविहीन छन् । रडहरू पनि चोरी भएको र निर्माण स्थलमा ल्याएको बालुवा सामग्री खोलाले बगाएको गुरुङ बताउँछन् । तुर्के खोलामा बाढी आउनासाथ दैनिक रूपमा चल्ने यातायातका साधन अवरुद्ध हुँदा स्थानीय बासिन्दा सास्ती झेल्दै आएका छन् ।
दैनिक ५ वटा निजी र एउटा सरकारी विद्यालयका विद्यार्थी बोक्ने सवारी साधन यस बाटोमा दैनिक चल्ने गरे पनि खोलामा पानीको सतह बढेपछि विद्यार्थी विद्यालय आउन सक्दैनन् ।
सबैभन्दा ठूलो समस्या त बिरामी परेको अवस्थामा खोलामा बाढी आएको खण्डमा त्यस क्षेत्रका बासिन्दा ठूलो घेरामा पर्ने गरेका छन् । बाढीमा एम्बुलेन्स जान नसक्ने भएका कारण स्थानीय बासिन्दाले उपचारको समस्या झेल्दै आएका छन् । पुलको काम ढिलो भएको भन्दै केराबारी–९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लसहितको टोलीले केही दिन पहिले डिभिजन कार्यालयमा पुल निर्माणको ढिलाई बारे जानकारी गराएका थिए । सांसद उपेन्द्र घिमिरेले सो पुलको निर्माणका लागि ठेकेदारलाई नै भेटेर काम छिटो गर्न निर्देशन दिएका छन् ।
यता निलगिरी कम्पनीका प्रबन्ध निर्देशक युवराज डाँगी भने सरकारले पुलको रि डिजाइन गरेर पठाएकाले ढिलो भएको बताउँछन् । उनले वर्षा सकिनासाथ असोज देखि काम थाल्ने बताए । यसै वर्षभित्रमा काम सक्ने समेत उनले बताए ।
काम नगर्ने ४५ ठेकेदारको नाम गृह मन्त्रालयमा
जिल्ला प्रशासन कार्यालय मोरङले काम नगर्ने ४५ जना ठेकेदारको नाम गृह मन्त्रालयमा पठाएकोे छ । हाल १ दर्जनजति ठेकेदार काम अलपत्र बनाएर फरार रहेका छन् । अन्य ठेकेदारको समयअवधि नसकिए पनि काम भने सन्तोषजनक नपाइएकाले गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।