लौ न फेरि आयो आँधी, खोला यतिबेला
रित्तै खल्ति रित्तै छन्, झोला यतिबेला ।।
निश्वास्सिए हेर सन्तान सात समुद्र पारि
देख्दादेख्दै च्यातिएको, चोला यतिबेला ।।
देखी नछाएकी वसन्तिलाई चुहिने छानोसम्म
घुँक्क घुँक्क न्याउली चरी, रोला यतिबेला ।।
बन्यो दानव दुराचारी दीनदुःखीको लागि
सस्तो भयो मुटुको, तोला यतिबेला ।।
हत्या, हिंसा, बलात्कारमा चुट्टिएका लगन
सराप्दै छन् ती चेलीका डोला यतिबेला ।।
यीनै बिलौनाले ईश्वरलाई पुकार्ने भक्तिको
त्यो धड्कन झनै कस्तो, होला यतिबेला ।।

-तारा भट्टराई
हुम्ला, कर्णाली