इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञाको कार्यान्वयनमाथि समीक्षा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञाको कार्यान्वयन सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै थप सतर्कता अपनाउने निर्णय गरेको छ । होटल तथा रेस्टुरेन्टहरुलाई बिहान ८ बजेदेखि राति ८ बजेसम्म सञ्चालनको अनुमति दिँदा त्यसको अपव्याख्या गर्दै अन्य पसलहरुसमेत सञ्चालन गरिएको भन्दै डीसीसीएमसीले होटल तथा रेस्टुरेन्टको परिभाषा निर्धारण गरेको प्रजिअ ढकालले जानकारी दिए ।

उनका अनुसार बासस्थानसहितको खाना उपलब्ध गराउने लज र राजमार्ग क्षेत्रका यात्रुलाई खाना खुवाउनका लागि सञ्चालित रेस्टुरेन्टलाई मात्र सो अवधिसम्म सञ्चालनको अनुमति दिइएको छ । यसैबीच, सोही बैठकले सदरमुकाम इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा एउटा भेन्टिलेटरसहित अक्सिजन सुविधायुक्त २० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

sunsari cdo order.