काठमाडौँः चीनले सगरमाथाको शिखरमा आरोहीहरुलाई सम्पर्कमा आउन नदिन ‘लाइन अफ सेपेरेसन’ बनाउने भएको छ ।

कोरोना संक्रमण बढिरहेका बेला दुई देशतर्फबाट सगरमाथा जाने आरोहीहरुलाई सम्पर्कमा आउन नदिन रेखा कोर्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तिब्बती पथप्रदर्शकको एउटा टोलीले सगरमाथा चढेर दुवै तर्फका पर्वतारोहीहरुबीच सम्पर्क रोक्न शिखरमा रेखा कोर्ने बताइएको छ । यद्यपि, सगरमाथाको साँघुरो र खतरनाक शिखरमा चीनले कसरी रेखा कोर्छ भन्ने स्पष्ट पारेको छैन । सगरमाथाको शिखरमा एकपटकमा मुस्किलले आधा दर्जन मानिस मात्र अटाउन सक्छन् । रेखा कोर्न तिब्बतको भागबाट २१ चिनियाँ अधिकारी शिखरतर्फ लागेका बताइएको छ । अधिकारी पुग्नुअघि नै पथप्रदर्शकहरुले रेखा कोरिसक्ने जनाइएको छ ।

सगरमाथाको आधार शिविरसम्म कोरोनाभाइरस संक्रमण फैलिइसकेको छ । आधार शिविरमा कोभिड–१९ को लक्षण देखिएर उपचारका लागि काठमाडौं ल्याइएका करिब दुई दर्जनमा संक्रमण पुष्टि भइसकेको छ । गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि संक्रमण बढ्ने जोखिमका कारण चीनले आफ्नो क्षेत्रबाट आरोहण बन्द गरिसकेको छ । उसले तिब्बततर्फको आधार शिविरसम्म जानसमेत रोक लगाएको छ । तर, नेपाल सरकारले भने अझैसम्म वसन्त ऋतुको लागि खुला गरेको आरोहण बन्द गरेको छैन । वसन्त ऋतुको आरोहण सामान्यतयाः अप्रिलदेखि जुनको पहिलो सातासम्म खुला गरिन्छ । सगरमाथा आरोहणबाट नेपालले बर्षेनि ठूलो राजस्व कमाइरहेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा १२ नयाँ संक्रमित थपिँदा नेपालको अवस्था भने भयावह छ । पछिल्लो २४ घण्टामा नेपालभर आठ हजार ८५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा ५२ जनाको मृत्यु भएको छ । चीनले आरोहीबाट संक्रमण फैलन सक्ने भन्दै सगरमाथामा दुई पक्षलाई छुट्ट्याउने रेखा खिच्न लागेको हो । -बाह्रखरीबाट