इटहरीः मोरङको विराटनगरमा कोरोना संक्रमणबाट एक दिनको अन्तरमा आमा र छोराले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुमा विराटनगर महानगरपालिका ३ घर भएकी ६० वर्षीया आमा र ४२ वर्षीय छोरा रहेको विराटनगर अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले जानकारी दिए । उनका अनुसार वैशाख १६ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना भएकी महिलाको हिजो बुधबार साँझ ७ः३० बजे उपचारका क्रममा ज्यान गएको हो भने वैशाख २३ गते अस्पताल भर्ना भएका उनकै ४२ वर्षीय छोराको आज अपराहन्न २ः०० बजे कोरोना संक्रमणकै उपचारका क्रममा ज्यान गएको हो । उनका अनुसार मृतक महिलाको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गएको हो भने महिलाकी छोराको अक्सिजन सपोर्टमा उपचारका क्रममा ज्यान गएको हो ।

महिलामा मधुमेहको दीर्घकालीन समस्या रहेको तथा उनका छोराको गतवर्ष मात्र मृगौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । जेठा छोरा उपचाररत अवस्थामा रहेकै बेला आमाको ज्यान गएपछि कान्छा छोराले आमाको अन्त्येष्टि गरेकोमा लगत्तै दाजुको पनि मृत्यु भएपछि दाजुको दाहसँस्कार पनि भाइले नै गरेका थिए । मृतक महिलाका पतिसमेत कोरोना संक्रमित भई घरमै होम आइसोलेसनमा रहेका छन् । उनीमा पनि मधुमेह र रक्तचापको समस्या रहेको वडाध्यक्ष विनोद बस्नेतले बताए । साथै, उनले आफ्नी ७५ वर्षीया आमासमेत कोरोना संक्रमित भई विराटनगर अस्पतालमै उपचाररत रहेको बताए ।