इटहरीः प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री ओलीले वैशाख २७ गते नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष राखेकोमा संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेपछि ओली नेतृत्वको सरकार ढलेको थियो । प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावउपर भएको मतदानमा दुई सय ६२ जना सहभागी भएकोमा प्रस्तावको पक्ष अर्थात् प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने पक्षमा ९३ मत मात्र खसेको थियो । मतदानमा सहभागीमध्ये १५ जनाले पक्ष वा विपक्षमा कुनै विकल्पमा मतदान नगरी तटस्थ बसेका थिए भने प्रस्तावको विपक्ष अर्थात् प्रधानमन्त्री ओलीमाथि विश्वास छैन भन्ने पक्षमा एक सय २४ मत परेको थियो ।

सत्तारुढ दल नेकपा एमालेकै संस्थापनइतर अर्थात् झलनाथ खनाल माधवकुमार नेपाल पक्षका २८ जना सांसद भने मतदान प्रकृयामा अनुपस्थित रहे । विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भई ओली पदमुक्त भएपछि विपक्षी दलहरुको आग्रह बमोजिम राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार राति ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरेकी थिइन् । तर, राष्ट्रपतिको आह्वान बमोजिम तीन दिनको अवधिमा प्रधानमन्त्री नियुक्तिका लागि कसैले पनि दाबी प्रस्तुत गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । यद्यपि, आफ्नो पदमा बहाल रहिरहन ओलीले एक महिनाभित्र संसदको प्रतिनिधिसभामा विश्वासको मत लिन सक्नुपर्ने हुन्छ । ओली नेपालको ४२ औँ प्रधानमन्त्री बनेका हुन् ।