इटहरीः काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् ।

उनी अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्वअधिराजकुमारीसमेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेरसमेत केही दिन उपचार गरिएको थियो ।

प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेकोले उनी अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो । पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो । पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।