इटहरीः जिल्ला प्रहरी कार्यालय मोरङले २०६९ साल चैत २२ गते मोरङको कानेपोखरी गाउँपालिका ७ (साविक बयरवन गाउँपालिका ९) मा हत्या गरी फालिएको अवस्थामा फेला परेकी महिलाको सनाखतका लागि सूचना जारी गरेको छ ।

पाँच फिट तीन इन्च उचाई भएकी, गहुँगोरो वर्णकी महिलाको शव फेला परेको मितिदेखि हालसम्म पहिचान खुल्न नसकेको भन्दै प्रहरीले उक्त मितिदेखि हराई हालसम्म फेला नपरेका कुनै महिला भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीका अनुसार कम्मरदेखि मुनिको भाग नाङ्गो, अनुहार कुच्चिएको, उत्तानो अवस्थामा रातको समयमा फेला परेकी महिलाले सेतोमा बुट्टेदार कुर्ता लगाएकी थिइन् भने सेतो रङको सुरुवालले टाउको छोपिएको थियो । खैरोमा कालो फित्ता भएको चप्पल र गुलाबी रङको झोलासमेत मृतकको शवनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । सूचनादाताको परिचय गोप्य राखिने प्रहरीले जनाएको छ ।