इटहरीः मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाउनेको संख्यासमेत बढिरहेकोतर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री ल्याउने भएको छ ।

संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै बिरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले चीनबाट अक्सिजन व्याग , अक्सिजन माक्ससहित अक्सिजन सिलिन्डर ल्याउन लागेको हो । एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिष्ठानहरुको ग्रुप हो ।

अक्सिजन कोभिडका बिरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यकता अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफूहरुले अक्सिजन ब्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिन्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष इटहरी निवासी शिवप्रसाद घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग , पाँच हजार अक्सिजन मास्क र दुई हजार अक्सिमिटर हवाईमार्गबाट सोमबारसम्म काठमाडौँ आइपुग्ने बताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मूल्यमै उपलब्ध गराउने समेत जानकारी दिए ।

एसजी ग्रुपले चीनबाट ल्याउने अक्सिजन सिलिन्डर १० लिटर क्षमताका दुई हजार दुई सय युनिट र अक्सिजन सिलिन्डर ४० लिटर क्षमताका दुई हजार दुई सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्न छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफ्नो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन पहल गर्नुपर्दछ भन्नेमा घिमिरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामग्रीहरुसमेत ल्याउने योजना आफूहरुसँग रहेको सुनाए ।

तत्काल स्वास्थ्य संस्थाहरुमा पुर्याउनुपर्ने संक्रमितहरुलाई अक्सिजन ब्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालीन उपचारमा अक्सिजन ब्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।