इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुनेगरी जारी गरेको निषेधाज्ञाको पूर्ण पालनाका लागि जिल्लाका मुख्य शहरहरुमा सेना परिचालन गरेको छ ।

कोरोना भााइरसको नयाँ भेरियन्ट सहितको महामारी नियन्त्रणका लागि आजदेखि जेठ १५ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेकोमा सोको उल्लङ्घन बढेपछि पूर्ण पालना सुनिश्चित गर्न शहरी इलाकामा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका इटहरी, धरान, इनरुवाजस्ता शहरहरुमा सेनाको टोलीले दैनिक रुपमा नियमित गस्ति गर्ने भएको छ । वैशाख ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि केही खुकुलो व्यवस्था गरिएकोमा मानिसको आवागमन नरोकिँदा संक्रमण फैलँदै गएपछि निषेधाज्ञा कडा बनाइएको हो ।

हाल जारी गरिएको निषेधाज्ञा अवधिमा मेडिकल र अस्पताल बाहेकका सबै व्यवसाय बन्द गराइएको छ । तरकारीजस्ता दैनिक उपभोग्य वस्तुको पनि होम डेलिभरी मात्र गर्न पाइने व्यवस्था गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार जारी निषेधाज्ञा हिजो मध्यराति १२ः०० बजेबाट सुरु भएकोमा जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म जारी रहनेछ । निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।