इटहरीः मोरङको लेटाङ नगरपालिकास्थित त्रिशुली चौकमा गएराति एक दुई जना युवाहरुको समूहले छुरा प्रहार गरी एक युवकको हत्या गरेको छ ।

लेटाङ नगरपालिका ३ का १८ वर्षी सुशील दर्जी दिलबहादुर लिम्बूले सोही स्थानका २२ वर्षीय रोमन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारार्थ मोरङको विराटनगरस्थित विराटनगर अस्पताल पठाइएकोमा अस्पताल लैजाने क्रममा बाटैमा राति १०ः३० बजे उनको ज्यान गएको हो । हत्यामा संलग्न अभियुक्तद्वयलाई इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शनिबार बिहान पक्राउ गरेको डीएसपी राईले बताए ।

उनका अनुसार पक्राउ परेका दुवै अभियुक्तहरुले मृतक राईले आफूहरुलाई ट्र्याक्टरमा मालसामान ढुवानी गरेबापतको पारिश्रमिक दिन लामो समयदेखि आनाकानी गरेकाले हत्या गरेको बयान दिएका छन् । मृतक राई पुल हाउसका सञ्चालक हुनुका साथै ढुङ्गा गिट्टि ठेक्कामा ढुवानी गर्ने व्यवसायमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ । दुवै अभियुक्तहरुउपर कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।