काठमाडौँः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइडबडी जहाज आज साँझ काठमाडौँ फर्कने निगमले जनाएको छ । यस्तै, बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाजले आज राति ११ः०० बजे बेइजिङ उडान भर्न लागेको हो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङमा संकलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ । उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइडबडी जहाज ‘ए’ ३३० उडान नम्बर आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दै छ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौं–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आईसीसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेसनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल ल्याइनेछ । निगमको वाइडबडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो । -रासस