इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० जनाको पिसिआर परीक्षण गर्दा चार सय ७९ महिला र ६ सय ६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैनिक सङ्क्रमण सङ्ख्याको आधारमा यो सङ्ख्या हालसम्मकै उच्च हो ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ हजार तीन सय ६४ पुगेको छ । सङ्क्रमित भएकामध्ये ३१ हजार ६० सङ्क्रमणमुक्त भएका छन् । सोमबार थप एक सय ७६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ६३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा दुई सय ३६, मोरङमा चार सय एक, झापामा दुई सय ८३, धनकुटामा ६२, सङ्खुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा एक र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।