इटहरीः मोरङको विराटनगर महानगरपालिका १६, दरैयास्थित भारतीय सीमावर्ति क्षेत्रबाट प्रहरीले अवैध पैठारी गरिएका सामान बरामद गरेको छ ।

बरामद गरिएका सामानहरुमा एक लाख ५६ हजार रुपैयाँ बराबरका लत्ताकपडा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार को२ह ७८७ र को२ह ४९२४ नम्बरको अटो टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीको गस्ति टोलीले कपडा बरामद गरेको हो । यसैबीच, विराटनगर–१७ मटेरुवास्थित सीमावर्ति सडक किनारबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एक सय ६० किलो ग्राम चिनीसमेत बरामद गरेको छ ।

बरामद गरिएको चिनीको मूल्य आठ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामानहरु आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।