इटहरीः सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर एक–एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका– ५ का २८ वर्षीय सीताराम बस्नेत र उदयपुरको कटारी नगरपालिका– ८ मरुवाखानी बस्ने २९ वर्षीया गीता विक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार उदयपुरकी विकको घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो । मरुवाखानीको जङ्गलमा घाँस काट्न गएकी उनको ज्यान गएको हो ।
सोलुखुम्बुका बस्नेतलाई भने स्थानीयले बुधबार दिउँसो उत्तिसे भीरमुनि मृत फेला पारेका थिए । स्थानीयले खबर गरेपछि जानकारी पाएको इलाका प्रहरी कार्यालय सोताङले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















