झापाः झापाको कचनकवल गाउँपालिकाका गन्धर्व समुदायले सोमबार राहत सामग्री पाएका छन् ।
कोरोना महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । काठमाडौँका केदार गान्धारीले ९० हजार रुपैयाँ पठाएपछि बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट वितरण गरिएको हो । गान्धारीबाट प्राप्त राहत सामग्री प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो । राहत सामग्री पाएपछि खुसी भएकी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताइन् । ‘बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो,’ धनमायाले भनिन्, ‘राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।’
गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीय रेजिना गन्धर्वले बताइन् । झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरू कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरूको खेतीपाती र व्यापार छैन । पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नुपरेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
‘सहयोगीहरूले हाम्रो दुःख बुझेर पर्याप्त राहत ल्याइदिनुभयो, अब गन्धर्व बस्तीमा कोही पनि भोकै बस्नुपरेन,’ उनले भने, ‘गाउँबस्ती डुलेरै पुर्खादेखि जीविका चलाउँदै आएका थियौँ । कोरोनाले निषेधाज्ञा लागेपछि लामो समय घरभित्रै बस्नुपर्दा खानेकुराको चरम अभाव भएको हो ।’ सोही क्षेत्रका जनप्रतिनिधि एवं प्रदेशसभा सदस्य बानियाँले जनताको स्वास्थ्य सुरक्षाका लागि लामो अवधिसम्म निषेधाज्ञा लगाउनु पर्ने परिस्थितिले विपन्न गन्धर्व समुदायमा खाद्य सङ्कट उत्पन्न भएको जनाउँदै मानवीय भावनाले ओतप्रोत भएर राहत सहयोग गर्नुहुने सबै दाताप्रति कृतज्ञता व्यक्त गरे । गन्धर्व समुदायको कला, संस्कृति र पहिचानको संरक्षणका लागि प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय निर्माण सुरु गरिएको बानियाँले बताए । सो समुदायका लागि जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर निर्माण, सामुदायिक घरबास कार्यक्रम र बालबालिकाको शिक्षाका लागि विशेष योजना ल्याइएको उनले जानकारी दिए । -रासस

















