इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा भोलिदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) तथा मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्रत्यायोजित अधिकार प्रयोग गरी जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएकोमा जिल्लामा संक्रमण दरमा कमी आएकाले निषेधाज्ञा केही खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार भोलिदेखि खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्षबाट बिहान १०ः०० बजेदेखि अपराहन्न ३ः०० बजेसम्म खाद्यान्न बिक्री गर्न पाइने छ । पसलमा भीडभाड गर्न भने नपाइने उनले प्रष्ट पारे । यसैगरी, दुध डेरी तथा माछामासु पसल बिहान १०ः०० बजेसम्म र बेलुका ४ः०० बजेदेखि ७ः०० बजेसम्म खोल्न पाइने छ ।

तरकारी तथा फलफूलको ढुवानी पूर्ववत रुपमा सुचारु नै रहने तथा ठेलामा राखेर बिहान १०ः०० बजेदेखि अपराहन्न ३ः०० बजेसम्म घरघरमा बिक्री गर्नसमेत सकिने प्रजिअ ढकालको भनाइ छ । हाट बजारजस्ता सामूहिक जमघटजन्य स्थानमा वस्तु बिक्री गर्न भने नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शैक्षिक सत्र सुरु हुन लागेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक तथा स्टेसनरी सामानको बिक्री गर्न बिहान १०ः०० बजेदेखि अपराहन्न ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ ।

cdo order.