धरानः भोजपुरको षडानन्द नगरपालिका–१४ का १८ वर्षीय सङ्गम ठटाल (परियार) र वडा–१३ की १५ वर्षीया श्रेष्ठ थरकी किशोरीले प्रेमपछि बालविवाह गरेसँगैै छुट्याएर जिस्काउँदै जातीय विभेदसहित मानसिक तनाव दिएर मृत्यु भएको भन्दै विभिन्न दलित उत्थान सँस्थाले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

१४ न वडाका वडाध्यक्ष झङ्कबहादुर रोका र वडा कार्यालयमा कार्यरत विमल पराजुलीले सङ्गमको घरमै पुगेर अपमान गरेको र प्रहरीले पनि समातेर यातना दिएको आरोप परिवारको छ । चौकीमा प्रहरीले बालविवाह भएको भन्दै दुवै पक्षका अभिभावकलाई आ–आफ्ना छोराछोरी जिम्मा लगाएपछि जेठ १२ गते अचानक ठटाल घरबाट बेपत्ता भए र १४ गते साँझ गाउँनजिकैको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । घटनाले एकाएक अर्कै मोड लिएपछि मृतक ठटालका परिवारले जनप्रतिनिधि र प्रहरीमाथि जातीय भेदभाव गरेको भन्दै प्रश्न उठाएका छन् । दलित र गैरदलित केटाकेटीबीच प्रेम भएर बालविवाह नै भएपनि आत्महत्या गर्नेगरी जनप्रतिनिधि र प्रहरीले शारीरिक र मानसिक तनाव दिएको आरोप मृतक सङ्गमका आमा सीताले लगाएकी छन् । उनले भनिन्, ‘१० गते राति १० बजेतिर छोराले श्रेष्ठ थरकी केटीलाई लिएर आयो । मैले समाजले स्वीकार्दैन, के गरेको छोरा भन्दा केटीले केही हुँदैन, बुबाआमालाई पनि जानकारी दिएको छु भनिन् ।

received_1125731681268575

बालविवाह नै भएकाले उमेर नपुगेसम्म छुट्याउन सकिन्थ्यो तर, वडाध्यक्ष रोका र प्रहरीले शारीरिक तथा मानसिक तनाव दिएकाले मेरो छोराले आत्महत्या गर्न पुगेको हो ।’ चौकी जान लाग्दा केटी पक्षका मान्छे धेरै देखेपछि ‘म पनि कोही मान्छे लिएर आउँछु’ भन्दा प्रहरीले उल्टै हप्काएको सीताको भनाइ छ । चौकीमा पु¥याएपछि आफ्नो छोरालाई प्रहरीले ‘अब यसलाई सजाय त दिनुप¥यो नि’ भन्दै कुटेकोसमेत सीताले बताइन् । प्रहरीले सङ्गमलाई आमाकै अगाडि कुट्न थालेपछि ‘छोरालाई बचाइदिनुप¥यो’ भन्दै वडाध्यक्ष रोकालाई हारगुहार गर्दा ‘यस्ता मर्दा केही नहुने’ भन्दै थप जातीय विभेदजन्य गालीगलौज गरेको सीताले बताएकी छन् । सङ्गमको पोष्टमार्टम रिपोर्ट आइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णकुमार चन्दले बताएका छन् । उनले पोष्टमार्टम रिपोर्टमा आत्महत्या नै भएको बताएका छन् । स्थानीय एक दलित अधिकारकर्मीले पनि आत्महत्या गर्न प्रहरी र वडाध्यक्षले नै बाध्य बनाएको आरोप लगाए ।

एमालेको भातृसङ्गठन मुक्ति समाजका केन्द्रीय सदस्य तथा दलित अधिकारकर्मी बिमल रणपहेलीले पनि घटनाको यथार्थ बुझ्दा आत्महत्या गर्न बाध्य बनाएको देखिएको बताएका छन् । वडाध्यक्ष रोका र प्रहरीले जातीय भेदभावजन्य गाली गरेर मानसिक र शारीरिक तनाव दिएकै कारण आत्महत्या गरेको ठहर गर्दै सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अधिकारकर्मीहरूले गरेका छन् । उक्त घटनाका विषयमा वैज्ञानिक समाजवादी पार्टी नेपाल भोजपुरले प्रेस वक्तव्य जारी गर्दै सत्य–तथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ । घटनामा वडाध्यक्ष र प्रहरीको भूमिका शङ्कास्पद रहेकाले सत्य–तथ्य छानबिन गर्न समेत प्रेस विज्ञप्तिमा माग गरिएको छ ।