इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत संसद भंग गरेर मद्यावधि चुनाव गरेरको र अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएको भन्दै यसको विरोध गर्न मोरङको सुन्दरहरैँचा नगरपालिकामा चार विपक्षी पार्टी एकजुट भएका छन् ।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकार कोरोना महामारी नियन्त्रणमा चुकेको मात्र नभएर देशलाई आघात पुग्ने काम गरेको भन्दै आफूहरुले मोर्चाबन्दी गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाका खातिर अन्त्य भएका शासकसरह देश सञ्चालन गरेको नेकपा माओवादी केन्द्र मोरङ जिल्ला कमिटि सचिवलय सदस्य नवराज चापागाईँले आरोप लगाएका छन् । ‘खड्गप्रसाद ओलीको राज्य सञ्चालनको गतिविध त्योचाहीँ हिजोका राजा महाराजा भन्दा तानाशाही ढंगबाट सञ्चालन भएको छ’, विज्ञप्ति जारी गरेपछि बोल्दै उनले भने । प्रधानमन्त्रीको यो कदमले जनताले सरकारप्रति मात्र नभएर नेपाली राजनीतिक क्षेत्रमा नै आशंका गर्ने अवस्था र्सिजना भएको उनको भनाइ छ । विज्ञप्तिमा सरकारले दिन प्रतिदिन गैर संवैधानिक, अलोकतान्त्रिक तथा जनविरोधी काम गर्दै गएको र यसले राज्य सञ्चालन पद्धतिको आदर्शकै नै धज्जी उडाउँदै अधिनायकवादतर्फ उन्मुख भएको आरोप छ ।

सरकारले केही समयअघि गरेको बजेट भाषणमा चुरे क्षेत्रलाई दोहन गर्ने र व्यापारिक क्षेत्र बनाउने सम्मको ‘कू’ प्रयास भएको जसपा सुन्दरहरैँचा नगर कमिटि अध्यक्ष शंकर देवानले बताए । ‘बजेट भाषणमा सरकारले व्यापार घाटा कम गर्न चुरे दोहन गर्ने अवधारणा ल्याएको छ । यसको पनि हामीले विरोध गरेका छौँ’, देवानले भने । सरकारले गत जेठ १५ गते अध्यायदेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा नेपालबाट ढुङ्गा गिटिजस्ता नदीजन्य वस्तुको निर्यातमा वृद्धि गर्ने घोषणा गरेको थियो । ओलीले संविधान मिच्ने काम मात्र नगरेको भन्दै अब देशमा पार्टीको विश्वासमा पनि आँच ल्याउने काम गरेको नेपाली काँगे्रस सुन्दरहरैँचा नगर कमिटि सभापति कृष्णबहादुर लिम्बूले बताए । ‘संविधान मिच्यो मात्र भन्दै छन् मान्छेले तर यसले (ओली) त पार्टी पनि मास्ने पर्यो संविधान पनि मास्ने पर्यो’, उनले भने ।

साथै अहिलेको सरकारले भ्रष्ट तथा ज्यानमाराहरुको साथ दिने गरेको उनको आरोप छ । ‘अहिलेको कोरोना पनि उसलाई बल भयो । किनभने अहिले हामीले आन्दोलन गर्न पनि नमिल्ने । यसले गर्दा उसले जे मनमा लाग्यो त्यही गरिरहेको छ’, उनले भने । जबसम्म प्रधानमन्त्री ओली सत्तामा रहिरहन्छन् तबसम्म आफूहरुको मोर्चाबन्दी कायम रहने लिम्बू बताउँछन् ।