इटहरीः कोसी राजमार्गको इटहरी खण्डस्थित इटहरी चौकबाट उत्तरतर्फ सङ्गीत चौकतर्फ जाने मोडमा रहेको नालामा कल्भर्ट निर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको ४ र ६ नम्बर वडाका स्थानीयहरुको सक्रियतामा गठित कल्भर्ट निर्माण संघर्ष समितिले आज ह्युमपाइप निर्माणस्थलमै पत्रकार सम्मेलन आयोजना गरी कल्भर्ट निर्माणका लागि पहलकदमी गरिदिन स्थानीय सरकारसँग माग गरेका हुन् । संघर्ष समितिका संयोजक ज्ञानेन्द्र दाहालले हाल जडान भइरहेको ह्युमपाइपले पानीको बहाव थेग्न नसक्ने र स्थानीयवासी डुबानको चपेटामा पर्ने हुँदा दीर्घकालीन आवश्यकतालाई मध्यनजर गर्दै सो स्थानमा कल्भर्ट निर्माण गरिनुपर्ने बताए । जङ्गलमा रहेका नदी नालामा समेत कल्भर्ट बनाइने गरिएकोमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रानी किमाथांका सडक क्षेत्रमा पर्ने नालामा ह्युमपाइप जडान गरिनु दुःखद भएको उनको भनाइ थियो ।

r1

संघर्ष समितिका सदस्य राजु केसीले निर्माण सुरु गर्दाकै अवस्थामा स्थानीय सरकारको ध्यानाकर्षण गराइएको भएपनि बेवास्ता गरिएको बताए । ह्युमपाइप निर्माण गर्न लागेको जानकारी पाएपछि आफूहरुले उपमहानगरपालिकालाई कल्भर्ट निर्माणका लागि ध्यानाकर्षण गराउँदा उपमहानगरपालिकाले सडक खन्नुअघि नै किन जानकारी नगराएको भन्दै मागको बेवास्ता गरेको उनले उल्लेख गरे ।

s1

कामै नलाग्ने ह्युमपाइप निर्माण गरी कालान्तरमा नाला पूर्ण रुपमा बन्द गराई पानीको निकास अवरुद्ध पार्ने दुराशयका साथ जबर्जस्ति ह्युमपाइप जडान गर्न खोजिएको उनले आरोप लगाए । २०२४ सालदेखि नक्सामा रहेको नालाको अस्तित्व नामेट गर्न खोजिएको उनको जिकीर छ । सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणबारे आफूहरुलाई पूर्वजानकारी नदिइएको भन्दै सदस्य केसीले अन्य स्थानमा डीपीआर संशोधन गरेर भएपनि आवश्यकता अनुकूल संरचना निर्माण गरिएको नजीर रहेकाले सोही अनुसार गर्नुपर्ने माग राखे । कल्भर्ट निर्माणको माग गर्दै जेठ २६ गते गठित संघर्ष समितिले इटहरीस्थित रानी विराटनगर इटहरी धरान सडक योजनाको कार्यालयमा हिजो निवेदन दिएको थियो । यसैगरी सोही दिन संघर्ष समितिले उपमहानगरपालिकाको समेत ध्यानाकर्षण गराएपछि उपमहानगरपालिकाका तर्फबाट मेयर द्वारिकलाल चौधरीले कल्भर्ट निर्माण गर्न अनुरोध गर्दै सडक योजना कार्यालयलाई पत्राचार गरेको थियो ।

g1

g2

g3

 

यता, ६ लेन सडक परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले भने सो क्षेत्रमा यसअघि पनि ह्युमपाइप नै जडान भएकाले साविकभन्दा ठूलो आकारको ह्युमपाइप जडान गर्न लागिएको जानकारी दिए । आफूहरुको माग अनुरुप कल्भर्ट निर्माण नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनि संघर्ष समितिले दिएको छ । राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा स्थानीयलाई बेवास्ता गरिनु दुःखद भएको समितिको ठहर छ ।

n1