इटहरीः यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ ।
मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको युवा पं अश्विन नेपाल बताउँछन् ।
मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे सङ्केत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन् । सुँघ्न सक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्ने गरेको पाइन्छ ।
अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुरको प्रयोग हुँदै आएको छ । यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्रले बताउँछ ।
चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती बाली नदीमा बगाउने विधान पुराणमा पाइन्छ । यो दिनलाई नरक चतुर्दशी वा ‘नर्के चतुर्दशी’ पनि भनिन्छ ।