इटहरीः इटहरीको पुरानो क्लब राष्ट्रिय जागृति (राजा) क्लबले सोमबार सडक क्षेत्रमा कार्यक्रम गरेको छ । क्लबले इटहरीको धरान लाइनमा रहेको स्काइ प्लाजा अगाडिको सडकमा सार्वजनिक कार्यक्रम गरेको हो ।

इटहरीका प्रदेश सांसद सर्वध्वज साँवा प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रम सडक मिचेर गरिएको थियो । लोकनृत्य प्रतियोगिता सहित जनगायक जीवन शर्माका ३ वटा गीत प्रस्तुत गरिएको सो कार्यक्रममा पत्रकार र सामाजिक व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

स्थानीय सरकारबाट स्वीकृति नलिई कार्यक्रम
सोमबार दिउँसो ३ बजेपछि शुरु भएको सो कार्यक्रम गर्न इटहरी उपमहानगरपालिकाबाट समेत अनुमति नलिएको पाइएको छ । उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सडक क्षेत्रमा हुने कार्यक्रम आफैँमा गलत भएको बताए । उनले भने, ‘अनुमति बिना सार्वजनिक कार्यक्रम गर्नु अनि सडकमा गर्नु दुवै गलत छ ।’ सडक क्षेत्रमा कार्यक्रम भएकाले आफूलाई अतिथि बोलाए पनि नगएको मेयर चौधरीले बताए ।

सडकमा कार्यक्रम गर्न मिल्दैन: सिडिओ
स्थानीय सरकारको अनुमतिबिना कार्यक्रम गर्नु अनि सडकमा कार्यक्रम गर्नु जायज नभएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका कार्यवाहक सिडिओ धु्रवबहादुर खड्काले सार्वजनिक कार्यक्रमको लागि स्थानीय सरकारको सिफारिशमा सुरक्षा माग गरेर मात्रै कार्यक्रम गर्नुपर्ने बताए । राजा क्लबबाट कुनै त्यस्तो माग गरिएको बारेमा थाहा नभएको निमित्त सिडिओ खड्काले बताए । उनले भने, ‘सडकमा कार्यक्रम गर्न मिल्दैन । सडकको सुरक्षा र संरक्षणको काम स्थानीय सरकारको हो । उसलाई माइनस गरेर कार्यक्रम गर्न मिल्दैन ।’

कार्यक्रमका बारेमा मलाई थाहा छैनः अध्यक्ष ढुङ्गाना
सडक क्षेत्रमा अनुमतिबिना गरिएको कार्यक्रम बारेमा आफूलाई थाहा नभएको राजा क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानाले बताए । कार्यक्रमको बारेमा संयोजक रविन गौतमलाई थाहा हुने भन्दै ढुङ्गाना पन्छिए । यता, पटकपटक फोन सम्पर्क गर्दा पनि संयोजक गौतमको फोन भने उठेन ।

itahari sadak (2)