इटहरीः सात ओटा सहायक नदीहरुको सङ्गमका रुपमा रहेको सप्तकोसीका सबै शाखाहरुमा पानीको बहाव उच्च भएको छ ।

निरन्तर वर्षाका कारण पानीको बहाव उच्च भएपछि नदी आसपासका बस्ति जोखिममा परेका छन् । सप्तकोसीमा आज (बुधबार) बिहानसम्ममा पानीको बहाव ६१ हजार एक सय ४५ क्यूसेक मापन गरिएको छ । बहाव बढ्दै गएपछि कोसी ब्यारेजका १२ वटा ढोका खुल्ला ब्यारेज प्रशासनले खोलेको छ । नदीको बढ्दो बहावलाई मध्यनजर गर्दै नदी आसपासका बस्ति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

उनका अनुसार सम्भावित क्षति न्यूनीकरण तथा उद्दारका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । पानीको बहावमा वृद्धि भएपनि खतराको स्तरसम्म भने नआएको प्रशासनको भनाइ छ । सप्तकोसीकै सहायक नदी मेलम्चीमा आएको बाढीका कारण पश्चिम नेपालको सिन्धुपाल्चोक क्षेत्रमा अर्बौँको भौतिक क्षति भएको छ । सात जनाको ज्यान गएको पुष्टि हुनुका साथै ठूलो संख्यामा मानिस घाइते भएको प्रहरीले जनाएको छ । वर्षा केही दिन जारी नै रहने भएकाले सबै क्षेत्रका नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन सरकारले अपिल गरेको छ ।