इटहरीः सप्तकोसीका सातै शाखा नदीहरुमा जलप्रवाह निरन्तर बढ्दै गएपछि सुनसरीको कोसी बराजका १९ ओटा ढोका ब्यारेज प्रशासनले खुला गरेको छ ।

कोसी बराज कन्ट्रोल रुमका अनुसार आज बिहानसम्म बराजका १९ ढोका खुला रहेका छन् । आज बिहानसम्म २० ओटा ढोका खुला गरिएको प्रशासनको भनाइ छ । कोसी बराजमा जम्मा ५६ ओटा ढोका रहेकोमा पानीको बहावको तिव्रताको आधारमा जोखिम आँकलन गरी आवश्यकता अनुसार ढोका खोल्ने गरिएको छ । सबै ढोका खुला गरिए भारतको बिहार राज्यमा कोसीले ठूलो क्षति निम्त्याउने भएका कारण भारतीय पक्षले सञ्चालन गरेको कन्ट्रोल रुमले सिमीत संख्यामा ढोका खोल्ने गरेको छ ।

देशका विभिन्न भागमा वर्षा जारी रहेकाले सप्तकोसीमा बहाव अझै बढ्ने आँकलन गरिएको छ । पानीको उच्च बहावलाई मध्यनजर गर्दै नदी आसपासका बस्तिको सुरक्षा व्यवस्थामा कडाइ गर्नुका साथै उद्धारका लागि प्रहरी टोली तयार अवस्थामा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । आज बिहान सप्तकोसीमा पानीको बहाव एक लाख १८ हजार २५ क्यूसेक रहेको बराज कन्ट्रोल रुमले जनाएको छ ।