सिक्किमः भारतको सिक्किमस्थित सोरेङमा जन्मिएर विश्वको सर्वोच्च चुचुरो सगरमाथाको आरोहण गर्न सफल बनेकी पर्वतारोही मनिता प्रधानलाई आफ्नो पैतृक गाउँमा स्वागत र शुभकामना व्यक्त गरिएको छ । यद्यपि सरकारद्वारा जारी कोभिड १९–को निर्देशिकालाई अनुपालन गर्दै साधारण रूपमा स्वागत कार्यक्रम आयोजना भइरहेको छ ।

हिजो सोरेङस्थित उर्जा विभागको अथिति गृहमा एक छोटो कार्यक्रमबीच पर्वतारोही मनिता प्रधानलाई स्वागत एवं बधाइ कार्यक्रम सम्पन्न भयो । यस अवसरमा सोरेङ–च्याखुकका क्षेत्र विधायक एवं सिक्किम विधानसभा अधिनस्थ जन आकलन समितिका अध्यक्ष आदित्य गोले, स्थानीय पञ्चायत, महकुमा अधिकारी रञ्जन राई, अतिरिक्त जिल्लापाल ृविकासे गायस पेगा, महकुमा पुलिस अधिकारी महेन्द्र प्रधान, खण्ड विकास अधिकारी सविना सुब्बा, विभागीय अधिकारी, सीएलसी अध्यक्ष सुकराज सुब्बा, सीएलसी महासचिव छोजाङ भोटिया, सीएलसी समन्वयक दिवस गोले, सीएलसी नारी संयोजक पुष्पा लेप्चा, विधायक गोलेका निजी सहायक दिनाक पाण्डे, सोरेङ ब्याटमिन्टन एसोसिएसन र ड्राइभर एसोसिएसन र अन्य नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो ।

manita pradhan3

 

पर्वतारोही प्रधानले गत १ जुनको बिहान ५ बजे सगरमाथामा आरोहण गर्न सफल बनेकी थिइन् । उनी इन्डियन माउण्टेनियरिङ फाउन्डेसनले पठाएको पर्वतारोहीहरुको टोलीमा एकजना सदस्य थिइन् । पश्चिम सिक्किमको सोरेङ बस्ति निवासी बीएम प्रधान र प्रेमकुमारी प्रधानको परिवारमा जन्मेकी ३६ वर्षीया मनिता साइँली छोरी हुन् । सोरेङ सिनियर सेकेन्डरी स्कुलबाट शिक्षार्जन गरेकी मनितालाई विद्यार्थी जीवनदेखि नै पर्वतारोहणमा रुचि थियो । दिल्लीमा इन्डियन माउन्टेनियरिङ फाउन्डेसनसँग जोडिएर काम गर्ने मौका पाएपछि विश्वको अग्लो चुचुरा सगरमाथाको आरोहण गरेर आफ्नो हिमाल चढ्ने सपनालाई पूरा गरिन् । पर्वतारोही मनिता प्रधान बुधबार आफ्नो गाउँ सोरेङ फर्किएपछि उनका माता–पिता साथै पारिवारिक सदस्यहरुले टीका लगाएर आशिर्वाद दिँदै स्वागत गरेका थिए ।

manita pradhan2