सिक्किमः भारतको सिक्किममा वृहद् होमस्टे परियोजना सञ्चालनमा आउने भएको छ ।

सिक्किम राज्य सरकारका मुख्यमन्त्री प्रेमसिंह गोलेले राज्यसभामा प्रस्ताव प्रस्तुत गरेपछि परियोजना सञ्चालनको आधारशीला तयार भएको हो । यस परियोजनाले सिक्किमका धेरै परिवारका लागि दीगो र पर्यावरणमैत्री जीवीकोपार्जनको माध्यम उपलब्ध गराएको सिक्किम होमस्टे एसोसियसनले जनाएको छ । पर्यटनका माध्यमबाट अर्थोपार्जन गरी जीवन निर्वाह गर्न होमस्टे सञ्चालनको योजनामा रहेका थुप्रै नवप्रतिभाहरुलाई यस योजनाले लाभ पुग्ने भएको छ । सिक्किमका ग्रामिण क्षेत्रहरुमा स्थापना भइरहेका होमस्टेहरुले त्यस क्षेत्रको ग्रामिण पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याउने पर्यटन व्यवसायीहरुको अपेक्षा छ ।

sk4

परियोजनाको सफलताका लागि दूरदर्शी योजनाका साथ सबै सरोकारवालाहरुको सहकार्य अपरिहार्य रहेको ठहर गर्दै एसोसिएसनले सोको पहलकदमी लिने भएको छ । विभिन्न विषय क्षेत्रहरुको विस्तृत ज्ञान भएका मानिसको सहभागिताले योजना कार्यान्वयनमा सरलता ल्याउने विश्वाससमेत एसोसिएसनले व्यक्त गरेको छ । विगतमा सरकारी कोषबाट ठूलो आर्थिक लगानी गरी सञ्चालित होमस्टेहरुबाट अपेक्षित फाइदा लिन नसकिएको तथ्यलाई मध्यनजर गर्दै यस पटक राज्य सरकारले व्यापक प्रचारप्रसार र बजारीकरणलाई पनि होमस्टे विस्तारको अभिन्न अङ्गका रुपमा अङ्गिकार गर्नुपर्ने सुझाव एसोसिएसनले दिएको छ ।