इटहरीः सार्वजनिक जग्गा किनबेच गर्न सिफारिश गरेको र सार्वजनिक जग्गामा बनेको सहकारी भवनलाई सहयोग गरेको आरोप खेपेका इटहरीका एक वडाध्यक्ष पुनः आलोचित भएका छन् । मादकपदार्थ सेवन गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएपछि इटहरी ५ का वडाध्यक्ष कल्याण कार्कीको आलोचना भएको हो । कार्कीले सिग्नेचर र ओल्ड दरबार नामक रक्सी खाएको फोटो एक जना विद्यालय व्यवस्थापन समिति अध्यक्षले सामाजिक सञ्जालमा राखेपछि आलोचना भएको हो ।
इटहरीको जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दङ्गालले वडाध्यक्ष कार्कीले रक्सी खाएको तस्बिर फेसबुकमा हालेपछि दुवैको आलोचना भएको हो । फेसबुकमा उनले लेखेका छन, ‘लामो समयपछि वडा अध्यक्षले ‘माल’ खान थाले । स्थान गुरुङ होटल, इटहरी–२० ।’यसमा नेकपा इटहरीका नेता तथा इटहरीका पूर्व एमाले अध्यक्ष रेवती घिमिरेले समेत आलोचना गर्दै लेखेका छन्, ‘गल्ती गरे ।’ नेकपा सुनसरीका नेता रामप्रसाद चौलागाईंले पनि यसको आलोचना गर्दै लेखेका छन्, ‘दाजु यो गलत भयो ।’
इटहरीका युवा पुष्प दाहालले पनि यो तस्बिरको आलोचना गरेका छन । उनले लेखेका छन्, ‘कस्तो असभ्य भाषा । जानेबुझेको समाजमा आफूलाइ राम्रो हुँ भन्ने व्यक्तिको स्टाटसको गति यो छ ।’
ओमप्रकाश निरौलाले लेखेका छन, ‘यो सच्याएकै राम्रो ।’ रमेश श्रेष्ठले पनि लेखेका छन्, ‘गलत काम यो ।’ बनुविलास पोखरेलले ‘उँधोमति लागेजस्तो छ’ भनेर आलोचना गरेका छन् । अन्य थुप्रैले पनि यसको विरोध गरेका छन् । विद्यार्थी नेता जीबी गजलले भने मध्यमार्गी कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘होइन वडा अध्यक्षको बेइज्जत गरेको हो कि के हो ? समाजिक सञ्जालमा हाल्न उचित ठानेरै हाल्या हो कि काशी दाइको फेसबुक ह्याक भयो ?’