इटहरीः नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ तथा नेपालका चर्चित कवि श्रवण मुकारुङ कात्तिक १५ गते दिउँसो जेटबोट यात्रामा थिए । राजधानी काठमाडांैबाट धरान हुँदै चतरा आएका उनी दक्षिणी भोजपुरमा कात्तिक १६ र १७ गते भएको पात्लेपानी साहित्य महोत्सवको लागि चतरा हुँदै भोजपुर जाँदै थिए ।

नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीमा आफ्नो जीवनमा पहिलोपटक जलयात्रा गर्दै थिए मुकारुङ । चतराबाट साहित्य महोत्सवमा पूर्व प्राध्यापक तथा भाषाशास्त्री डाक्टर टङ्क न्यौपानेसहित विभिन्न कवि, लेखक, साहित्यकार र पत्रकारसँगै जेटबोट यात्रामा थिए मुकारुङ । मुकारुङ जेटबोटको सबैभन्दा अगाडिको भागमा बसेका थिए ।

जेटबोटले पानीमा गति लिइरहँदा कवि मुकारुङ उत्साहित देखिन्थे । उनी घरि किनारमा हिँड्नेहरूतिर हेर्दै थिए । घरि सप्तकोशीको मूलप्रवाहबाट भोजपुरतिर हान्निइरहेको जेटबोटबाट भित्ताको अक्करमा हिँड्दै देखिएका मान्छे र चौपाया हेरिरहेका थिए ।

shrawan mukarung pradesh portal 1
उनी अक्कर देखाउँदै भन्दैथिए, ‘मैले आज भन्दा ४० वर्ष अगाडि यो अक्करको बाटो भोजपुरबाट यात्रा गरेको थिएँ ।’ आफ्नी हजुरआमाले धरानको घोपा क्याम्पमा रहने फुपूलाई घिउ बोकाएर यही बाटो तीर्थालुसँगै बाल्यकालमा पठाएको संस्मरण सुनाए मुकारुङले ।

जेटबोटले २० मिनेट हाराहारीको यात्रामा सुनसरीको चतराबाट दक्षिणी भोजपुरको सिम्ले पुर्याएर छाड्यो । यात्रापछि कवि मुकारुङले हाँस्दै भने, ‘पहिलोपटक जलमार्गबाट आफ्नो गृहजिल्ला आउन पाउँदा धेरै खुशी लाग्यो । उत्साहित छु ।’
खोटाङसँग सिमाना जोडिने दिल्पा गाउँका मुकारुङले यस अगाडि २०४५ सालताका प्लेन चढेर गृहजिल्ला आएको बताए । स्थलमार्गबाट त उनी पटकपटक गृहजिल्ला आएका छन् ।

यस वर्ष भने पहिलोपटक जलमार्गबाट आउन पाएकोमा मुकारुङले खुशी व्यक्त गरे । ‘दक्षिणी भोजपुरको पर्यटनमा यो जलयातायातले धेरै राम्रो गर्ने रहेछ’, प्रतिव्यक्ति ४ सय रुपैयाँ भाडा रहेको र बर्खामा जलमार्ग बन्द हुने बुझेपछि कवि मुकारुङले भने, ‘मान्छे र सामान दुवैलाई सहज र सस्तो बाह्रैमासा ओहोरदोहोर गर्ने अवस्था बन्दा दक्षिणी भोजपुरको राम्रो भविष्य बन्छ ।’

shrawan mukarung pradesh portal