इटहरीः हरेक वर्ष कात्तिक शुक्लपक्ष षष्ठी तिथिको दिन मनाइने नेपालीहरूको महान चाड छठको तयारी इटहरीमा हुँदैछ । मिश्रित बसोबास भएको प्रदेश १ को केन्द्रीय शहर इटहरीमा छठ पर्व पनि सबै समुदायले मिश्रित रूपमा नै मनाउँछन ।
छठ पर्व सेवा समितिले व्यवस्थापन गर्ने इटहरीको छठ पर्व इटहरी र मोरङको सिमाना भएर बग्ने बुढी खोलाको दुवै किनारमा मनाइन्छ ।
४ सय घाट बने, २ लाख भक्तजन आउने अनुमान
इटहरीमा यस पटकको छठ पर्वको लागि ४ सय व्यवस्थित घाटहरू बनाइएको व्यवस्थापन समितिले बताएको छ । गत वर्ष झँै यस वर्ष पनि २ लाख भक्तजनहरू आउने समितिको अनुमान छ ।
आज बिहान बुढी खोला किनारमा गरिएको पत्रकार सम्मेलनमा आयोजकले यस्तो कुरा बताएको हो । आवश्यकता अनुसार घाटहरू थप्ने काम अभै जारी भएको छठ पर्व सेवा समिति इटहरीका अध्यक्ष राजु रायले बताए ।
प्राथामिक उपचारको व्यवस्था सहितको समारोह
समितिका सचिव वासुदेव कर्णका अनुसार पर्वमा रात्रिकालीन लाइट, सांस्कृतिक कार्यक्रम, मूर्ति यात्रा, सरसफाइ, खानेपानी आदि विभिन्न कार्यक्रमहरू हुँदैछन् ।
विभिन्न उपसमितिहरू बनाएर गरिएको छठ पर्व समारोहमा प्राथमिक उपचारको व्यवस्था पनि गरिएको समितिले बताएको छ । यसका लागि सामुदायिक स्वास्थ्य केन्द्र इटहरीसँग समन्वय भएको समितिका सदस्य सुरेन्द्र तामाङले जानकारी दिए ।
कार्यक्रमको लागि यस वर्ष ६ लाख ५३ हजार हाराहारीको खर्च अनुमान गरिएको बताइएको छ । यो बजेटका लागि अघिल्लो वर्षको बचत रहेको १ लाख २५ हजार रकमबाहेक सबै रकम चन्दा सहयोगबाट जुटाइएको समितिको भनाइ छ ।
यस्तो छ इटहरीको छव पर्वका तीन दिने कार्यक्रम
पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छठ पर्वको मुख्य कार्यक्रम तालिका तीन दिने रहेको छ । कात्तिक २६ गते मूर्ति स्थापना शोभायात्रा गरिने भएको छ । यो यात्रा राधाकृष्ण मन्दिरबाट शुभारम्भ हुने पनि आयोजकले जनाएको छ ।
यसैगरी, २७ गते छठ पूजाको शुभारम्भ हुनेछ । अपराह्न साढे २ बजे हुने यो शुभारम्भ कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रमहरू समेत हुनेछन् । सांस्कृतिक कार्यक्रम साँझ ६ बजे सम्म जारी हुने जनाइएको छ । सांस्कृतिक कार्यक्रमसँगै सन्ध्याकालीन अर्घ दिइने बताइएको छ ।
छठ समापनको अन्तिम दिनमा पर्ने २८ गते विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । बिहान ३ बजेदेखि शुरु हुने यस्ता कार्यक्रमहरूसँगै बिहानको अर्घ दिइनेछ । त्यही दिन पूजा समापन र प्रसाद वितरण हुनेछ ।
तस्बिरः गुरु ढकाल