इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीयस्थल तालतैयामा कोरोना भाइरसको असर पर्दै जान थालेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लागु गरेको निषेधाज्ञाका कारण तालतलैयालाई आर्थिक तथा भौतिक विकासमा असर पारेको ताललैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले जानकारी दिए । पटकपटक समय थप गरी लागु गरिएको निषेधाज्ञाका कारण करिब ७६.७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो पर्यटकीयस्थल यो बेला सुनसान बनेको छ । यही क्षेत्रफलभित्र रहेका प्राकृतिक सम्पदाहरु र मानव निर्मित मनमोहक दृष्यले तालतलैयाको लोकप्रियता बढाएको छ । यही मनमोहक दृष्य हेर्न यहाँ आन्तरीक तथा केही भारत तथा बंगलादेशका पर्यटकको घुइँचो लाग्ने गरेको थियो । तिनै पर्यटकबाट उठेको पैसाले यहाँका भौतिक विकास, कर्मचारीको तलब र यहाँ रहेका पशुपक्षीको आहार जुट्दै आएको थियो ।

protected-birds-in-talatalaiya

 

अहिले सुनसरीमा निषेधाज्ञा परिमार्जन गरेर खुकुलो बनाइएको छ । पसल तथा व्यवसायहरु सञ्चालनमा आएका छन् । यतायातका साधन पनि सञ्चालन भइहरेका छन् । अन्यले कोरोनाको असरलाई ‘ओभरकम’ गर्न लागिपरिहेका भए पनि पर्यटन व्यवसाय भने लयमा फर्कन सकेको छैन । तालतलैयाजस्ता पर्यटकीयस्थलमा बढी भीडभाड हुने भन्दै अहिले नै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसीं) ले सञ्चालनको अनुमति दिएको छैन । फलस्वरुप यसमा आबद्ध सबैलाई असर परेको छ । पहिलो चरणको कोरोनाका कारण ठूलो असर खेपेको तालतलैयाले त्यसको असर पुनः दोहोर्याउन बाध्य भएको छ । सामान्य समयमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म पर्यटक आउने तालतलैयामा कोरोनाको संक्रमणका कारण घुम्न आउने पर्यटकको संख्या पनि शून्य भएको अध्यक्ष लिम्बू बताउँछन् ।

picnice-spot-in-talatalaiya

‘कोरोनाले गर्दा तालतलैयाको पर्यटनलाई दह्रै असर पार्यो । यहाँ लकडाउनअगाडि दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म पर्यटक आउने गरेका थिए’, अध्यक्ष लिम्बूले भने, ‘तर, कोरोनाले गर्दा त्यो संख्या शून्यमा झरको छ । पर्यटक नआउँदा यहाँको आय शून्य भएको छ ।’ यहाँको मुख्य आमदानी नै घुम्न आउने आगन्तुकबाट उठाइएको दस्तुर हो । जसले यहाँका कर्मचारीको तलाब, संरक्षित पशुपक्षीको आहारा र भौतिक विकासलाई धान्दै आएको थियो । अहिले आम्दानी शून्य भएको र मौज्दात पनि कम भएकाले आर्थिक संकट आइपर्न लागेको अध्यक्ष लिम्बू बताउँछन् । आमदानी हुन छोडेपछि तालतलैयामा काम गर्ने कर्मचारी आलोपालोमा आउने गरेका छन् । कुल १७ जना कर्मचारी यहाँ रहेका छन् । उनीहरुमध्ये आधालाई एक साता र आधालाई अर्को साता गरी आलोपालो प्रणालीमा काममा लगाउँदै आइएको छ । यस्तै अहिले रहेको मौज्दात आम्दानीले साउनभरि आहारको व्यवस्थापन गर्न पुग्ने अध्यक्ष लिम्बूले जानकारी दिए ।

artificial-dinosaur-in-talatalaiya

 

‘हामीसँग १७ जना कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई आलोपालोमा बोलाउँछौँ’, अध्यक्ष लिम्बूले भने, ‘उहाँहरुलाई तलब दिन पनि धौधौ हुन थालेको छ । आहार पनि दुःखसुख व्यवस्थापन गर्दै छौँ । साउनभर पुग्छ । त्यसपछि कता माग्न जानुपर्ने हो थाहा छैन ।’ त्यति मात्र होइन, यहाँ हेर्नलायक अन्य भौतिक संरचनाको विकासमा पनि कोरोनाले ठूलो असर परेको छ । अहिले जिर्ण हुँदै गएका संरचनाको सामान्य मर्मतबाहेक समितिले अन्य केही गर्न सकेको छैन । यस्तै, यहाँ रहेका ताल तथा पोखरीहरुको सामान्य सरसफाइको मात्र समितिले काम गर्न सकेको छ । ‘अन्य कुरा त जेनतेन चलिहरको छ’, अध्यक्ष लिम्बूले भने, ‘यहाँको विकासको काम ठप्प नै भएको छ । वृक्षारोपण र सरसफाइबाहेक केही गर्न सक्ने अवस्था छैन ।’

children-park-in-talatalaiya

 

तालतलैयाको आफ्नै नर्सरीबाट अहिले विभिन्न जातका बिरुवा तालतलैया क्षेत्रमा रोप्ने काम भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए । अहिले इटहरी उपमहानगरपालिकाले पशुपक्षीलाई आहारा खुवाउन आवश्यक पर्ने डुँड सहयोग गरेको छ । यस्तै उमहानगरले फोहोर फाल्न आवश्यक डस्विन पनि सहयोग गरेको छ । उपमहानगरले कुहिने फोहोर हाल्नको लागि ६ वटा र नकुहिने फोहोर हाल्नको लागि ६ वटा गरी कुल १२ वटा डस्विन तालतलैया विकास तथा संरक्षण समितलाई हस्तान्तरण गरेको छ । यस्तै, पर्यटकीयस्थल तालतलैयामा बोट बिरुवा रोप्न आवश्यक पर्ने गमला पनि उपमहानगरले सहयोग गर्ने भएको छ । उपमहानगरले ५० वटा गमला दिने प्रतिबद्धता व्यक्त गरको अध्यक्ष लिम्बूले जानकारी दिए । केही मात्रामा आइसकेका छन् भने केही आउने क्रममा रहेको लिम्बूले जानकारी दिए ।

 

lake-in-talatalaiya stone-heart-in-talatalaiya protected-animal-in-talatalaiya loard-buddh-in-talatalaiya