पछिल्लो समय इन्स्टाग्राम, फेसबुक लगायत सामाजिक संजालहरुमा पातलो शरीर, सफा चम्किलो अनुहार बनाएर तस्बिर राख्ने ट्रेन्ड लोकप्रिय बनेको देख्न सकिन्छ ।

तर यो नयाँ ट्रेन्डकै कारण धेरै युवाहरु सामाजिक एवम मानसिक तनावबाट गुज्रिने गरेको पनि पाइएको छ । धेरै अवस्थामा त्यस्ता तस्बिरहरु वास्तविक नभएर बनावटी अर्थात फिल्टर राखिएको या ‘एडिट’ गरिएका हुने गर्दछन् तर लाखौँ करोडौँ फलोअर भएका ‘सोसल मिडिया स्टार’ हरुले राख्ने त्यस्ता तस्बिरहरुबाट प्रभावित भइ असली जीवनमा सौन्दर्यताको अव्यवहारिक स्तर प्राप्त गर्न नसक्दा युवाहरुको आत्मविश्वास घट्ने गरेको छ । त्यसैले नर्वेमा यस सम्बन्धी अब नयाँ कानुन लागू हुने भएको हो जस अन्र्तगत सोसल मिडिया स्टारहरुले आफ्ना तस्बिरहरु राख्दा त्यसलाई कुनैपनि किसिमले ‘एडिट’ गरेको भएमा यसबारे जानकारी नगराइ पोस्ट गर्न पाउनेछैनन् । सो नियम सबै प्रयोगकर्ताहरुमा लागू हुने बताइएको छ ।

यसले युवाहरुमा पातलो शरीर, चिल्लो छाला जस्ता ट्रेन्डको दबाब कम गर्ने अपेक्षा गरिएको छ । नर्वेस्थित २६ वर्षीया इन्स्टाग्राम स्टार मेलेलिन पिडरसनले पनि यो नयाँ कानुनले युवाहरुलाई अव्वहारिक तस्बिरहरुसँग आफूलाई तुलना गर्नबाट रोक्न सक्ने बताइन् । उनी भन्छिन्, “अहिलेका सामाजिक संजालमा अधिकांश प्रयोगकर्ताहरु त्यस्ता तस्बिरकै कारण आफ्नो रुप र शरीरबारे असुरक्षित महसुस गर्छन् । म आफैँले पनि विगतमा इन्स्टाग्रामका कारण मेरो शरीरको बनावट अपर्याप्त भएकाबारे धेरै संघर्ष गर्नु परेको थियो । र यसको सबैभन्दा नराम्रो पक्ष भनेको जो व्यक्तिसँग मैले आफ्नो तुलना गरिरहेको हुन्थेँ उनीहरुका ती तस्बिर बनावटी हुन् या असली भन्ने समेत थाहा हुँदैन थियो । त्यसैले सबैले साँचो कुरा थाहा हुनुपर्छ । हामीलाई यो कानुनको आवश्यकता छ । ” नर्वेको यो कानुन बजारीकरण ऐन अन्र्तगत ल्याइएको छ र यसलाई कहिलेदेखि कायृन्वयन गर्ने भन्ने राजाले निर्णय गर्नेछन् ।

 सरकारले पनि यो नयाँ नियमले विज्ञापन क्षेत्रमा देखा पर्ने प्रभावशाली मानिसहरुका कारण समाजमा उत्पन्न अव्यवहारिक शारीरिक या सौन्दर्य सम्बन्धी दबाब कम गर्ने बताएको छ । असली जीवनमा सम्भव नभएको छाला या शरीरको आकार देखाउनु उचित नभएको सरकारद्वारा जारी वेबसाइटमा उल्लेख गरिएको छ । यसबाट सोसल मिडिया स्टार सहित चर्चित कलाकारहरु पनि प्रभावित हुने बताइएको छ । मेडेलिनका अनुसार यो नियमले स्टारहरुलाई आफूले तस्बिर एडिट गरेको स्वीकार्न बाध्य बनाउनेछ जुन उनीहरुका लागि लज्जास्पद हुन सक्छ । उनी भन्छिन्, “तपाईँ पहिले नै राम्रो हुनुहुन्छ भने किन एकदुई सय बढी लाइक पाउन एडिट गर्नु हुन्छ जुन तपाईँको वास्तविक जीवन होइन । ” गत वर्ष बेलायतमा गरिएको एक सर्वेक्षणमा १८ वर्षीय युवाहरुमा केबल ५ प्रतिशतले मात्र आफ्नो स्वरुप जस्ताको त्यस्तै राख्न चाहेको र कुनै सर्जरी या डािियटङ नगर्ने बताएका हुन् । -बीबीसीबाट