तस्बीरः गुरु ढकाल

इटहरीः सुनसरीको इटहरीमा सञ्चालित संगीत साधना प्रतिष्ठानले सांगीतिक तथा सृजनात्मक कार्यक्रम ‘सप्तक’ को दोस्रो श्रृङ्खला सुरु गरेको छ ।

तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रम हरेक साताको शनिबार विविध साहित्यिक कार्यक्रम गर्दै निरन्तर दुई सय ८० श्रृङ्खलासम्म सञ्चालन भई गत वर्ष कोभिड महामारीका कारण देशव्यापी बन्दाबन्दी सुरु भएपछि स्थगित भएको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार पूर्वीय र पाश्चात्य दुवै किसिमका शास्त्रीय संगीतको प्रवद्र्धन र संगीत र समाजका बीच अन्तर्घुलन गराउने उद्देश्यले कार्यक्रमलाई पुनर्जीवित तुल्याइएको हो । कोरोना महामारीले उत्पन्न गराएको जटिलताका कारण हाललाई कार्यक्रम पाक्षिक रुपमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क तिर्नु नपर्ने उनले प्रष्ट पारे ।

saptak3

हिजो सम्पन्न दोस्रो चरणको श्रृङ्खलाको पहिलो कार्यक्रममा वरिष्ठ संगीतकार गुरुदेव कामतले शास्त्रीय संगीतका विविध तान, आलाप र राग प्रस्तुत गरेका थिए । यसैगरी, भ्वाइलिन वादक सुधाकर वस्ति र ६ वर्षीय बालक उज्जैन वस्तिले भ्वाइलिनमार्फत् वातावरणलाई श्रुतिरम्य बनाएका थिए । यसैगरी, नवगायकहरु ११ वर्षीय अङ्कुर भट्टराई, अमृता श्रेष्ठ, दावा तामाङ र भुमा अधिकारीले आफ्ना सुमधुर स्वरमा प्रस्तुत गरेका गीतहरुले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

यसैगरी, वाद्यवादकहरु विदुर कार्की, जेम्स श्रेष्ठ, किसन श्रेष्ठ, शर्मिला सिग्देल, नवीन श्रेष्ठ, मणि गुरुङ, सुधाकर वस्ति र राजु केसीले विभिन्न वाद्यवादनहरु बजाई समारोहलाई जोििसलो बनाएका थिए । कार्यक्रम इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संगीतमा अब्बल बन्नका लागि पूर्वीय र पाश्चात्य दुवै संगीतको ज्ञान आवश्यक रहेकाले यसको औपचारिक शिक्षाको सुलभताका लागि आफूहरु प्रयत्नरत रहेको प्रतिष्ठानले जनाएको छ । संगीत आफैँमा एउटा विज्ञान भएकाले यसको विकासका लागि विविध अनुसन्धान गर्न सक्षम जनशक्ति उत्पादन गर्नु प्रतिष्ठानको लक्ष्य रहेको छ ।

saptak2

saptak1 saptak4