इटहरीः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै प्रतिष्ठानका पूर्व विद्यार्थीहरुले हिजो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
डा .कुम्भ जोशीको नेतृत्वमा प्रतिष्ठानका पूर्व विद्यार्थीहरुले आन्दोलनरत पक्षले राखेको माग सम्बोधन गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

‘नो ब्याड पोलिटिक्स इन बिपीकेआइएचएस, बिपीकेआइएचएस लगायतका प्रतिष्ठान र विश्वविद्यालयमा दलियकरण बन्द गर, प्रतिष्ठान तथा विश्वविद्यालयहरुमा दलिय भागवण्डा बन्द गर, के का लागी पढ्ने? के का लागि भिसी बन्ने? के का लागि रेक्टर बन्ने? लुटतन्त्र मच्चाउन?’ लगायतका व्यांग्यात्मक प्रश्नसहितका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । डा. कुम्भ जोशीले प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले राखेको माग पुरा गर्न सरकारलाई दवाव दिन प्रदर्शनमा उत्रिएको बताए।

उनले आन्दोलनरत पक्षको माग सुनुवाई नभएसम्म आफूहरुले पनि माइतिघरमा प्रदर्शन जारी राख्ने जानकारी दिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा असार १ गतेदेखि त्यहाँका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् ।

बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान नै चलाएर आन्दोलनमा रहेका उनीहरुले प्रतिष्ठानका पदाधिकारीले अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेर आन्दोलन गरिरहेका छन्।

एक महिनाभन्दा बढी समयसम्म स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा रहेपछि सरकारले केही दिनअघि मात्र प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

सो समितिले धरान पुगेर प्रतिष्ठानका आन्दोलनरत पक्षसँग छलफल समेत गरेको छ। तर, आन्दोलनरत पक्षले भने आफुहरुसँग छलफल मात्र नभइ आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएका छन् । स्वास्थ्यखबरबाट