इटहरीः निकै पहिलेदेखि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले वडा सचिवहरूलाई सवारी सुविधा नदिनेबारे अड्डी कसिरहेका थिए । उनको एउटै तर्क थियो, योजना शाखा र ओभरसियरलाई आवश्यक भइरहेको २ पाङ्ग्रे सवारी सचिवहरूलाई कम आवश्यक छ ।

त्यसमा पनि सबै वडा सचिवहरूलाई नभई केहीलाई मात्र सो सुविधा दिइएको भन्दै विवाद भइरहेको थियो । यसबारे चासो राखेर मेयर चौधरीले सुविधाको सवारी चलाइरहेका वडा सचिवहरूको बाइकको चाबी खोस्न नगर प्रशासनलाई अह्राएका थिए ।

तर, कुनै पनि कर्मचारीले वडा सचिवको चाबी खोस्न नसकेपछि आज चौधरी आफैँ कस्सिए र वडा सचिवको बाइकको चाबी खोसे । मेयर आफँैले बाइकको चाबी खोसेको विषयले आज इटहरी उपमहानगरपालिका परिसरमा हङ्गामा भयो ।

चाबी खोस्नुको कारणबारे मेयर चौधरीसँग प्रदेश पोर्टलले बुझ्दा आफू कसैलाई काखा र कसैलाई पाखा बनाउने सोचमा नभएको तर्क दिए । निकै दिन अघिदेखि सचिवहरूलाई चाबी बुझाउन आग्रह गरे पनि नसुनेजस्तो गरेको भन्दै आफैँ जुट्नुपरेको उनले बताए ।
उनले आफूले वडा १३ का सचिव बालकुमार पोख्रेल र वडा १९ का सचिव सञ्जीव खड्काको बाइकको चाबी खोसेको बताए । ‘यसअघि पटकपटक सूचना गर्दा पनि चाबी नदिएपछि मैले खोसेको हुँ’, उनले भने ।

उनले सुब्बा तहको कर्मचारीलाई मालपोतमा पनि बाइक सुविधा नहुने भन्दै नगर धनी भए आफू सुविधा दिन तयार रहेको तर्क गरे । ‘यहाँ नगरभित्रका योजना अनुगमन गर्न जाने ओभरसियर तथा योजनाका अन्य कर्मचारीलाई भनेको बेला ठाउँमा पुग्ने साधन भएन’, मेयरको चौधरीको भनाइ थियो, ‘जहाँ तत्काल आवश्यक छ त्यहाँ पो दिने हो त बाइक ।’