धरानः सुनसरी धरानको प्रवोध साप्तहिक पत्रिका ११ वर्ष प्रवेश गरेको अवसरमा ब्लाष्टकर्मी खिलानाथ विश्वकर्मासहित ३ जना क्रियाशील पत्रकार र १ जना साहित्यकारलाई नगदसहित सम्मान गरिएको छ ।

ब्लाष्ट टाइम्स दैनिकका खिलानाथ विक, दिव्य रोशनी साप्तहिकका सागर सिञ्जाली र कृति टेलीभिजनकी मौसमी कार्कीलाई नगद ५ हजारसहित सम्मान गरिएको हो । प्रवोध साप्तहिक पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलका बुवा रेशबहादुर लम्जेलको वार्षिक स्मृतिमा स्थापना गरिएको ‘रेशबहादुर लम्जेल खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका खिलानाथ वि। क लाई प्रदान गरिएको हो । पत्रिकाकी प्रधान सम्पादक प्रकाशक जमुना श्रेष्ठका आमाबुबाको स्मृतिमा ‘विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ दिव्य रोशनी साप्ताहिकका पत्रकार सागर सिञ्जालीलाई प्रदान गरिएको हो । पत्रिकाका सल्लाहकार गजेन्द्र लम्जेलकी आमाको वार्षिक स्मृतिमा स्थापना गरिएको ‘पदमकुमारी लम्जेल स्मृति पत्रकारिता पुरस्कार’ कृति टेलीभिजनकी पत्रकार मौसमी कार्कीलाई प्रदान गरिएको हो । साहित्यकार एवम् साप्ताहिक पत्रिकाका सल्लाहकार गणेशकुमारी राईकी आमाको वार्षिक स्मृतिमा ‘मतिश्वरा राई स्मृति साहित्यिक पुरस्कार–२०७८’ इटहरीकी कवियत्रि लता कार्कीलाई प्रदान गरिएको हो । उनलाई पनि नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको सम्पादक लम्जेल सङ्घर्षशीलले जानकारी दिए ।

received_414390133190088

वार्षिकोत्सवकै अवसरमा पत्रिकामा समूहका आफन्तजनको सामुहिक वार्षिक स्मृति एवम् सम्मान कार्यक्रम गरेको पत्रिकाकी प्रकाशक तथा सम्पादक जमुनादेवी श्रेष्ठले बताइन् । कार्यक्रमका प्रमख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले धरानका साप्ताहिक पत्रिकामा पनि प्रवोध र दिव्य रोशनीले विभिन्न रचनात्मक कार्य गर्दै संस्थागत भूमिका निर्वाह गरेको बताए । नेपाल कम्युनिस्ट पार्टीका नेता दीपेश राई, नेकपाका नेता तिर्लोचन लोहार, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि र साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । पत्रिकाको अनलाइन संस्करण पनि सञ्चालनमा रहेको छ । पत्रिका १० औं वर्ष पूरा गरी २०७८ साउन १ गतेदेखि ११ औं वर्ष प्रवेश गरेकोे हो । ११ औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार धरानको होटल पूर्वी स्टारमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । पूर्वका क्रान्तिकारी पत्रकार तथा संस्कृतिकर्मी महान शहीद डी कौडिण्यको स्मृति कार्यक्रमसमेत गरिएको थियो ।