इटहरीः विहार सुपौलका महेश शर्मा सोमबार नै कोशी ब्यारेजमा रहेका आफन्तकोमा परिवारसहित पाहुना लाग्न आए । यस वर्ष मात्र होइन विगत ५ वर्षदेखि महेश सप्तकोशीमा छठ पूजा गर्न परिवारसहित कोशी आसपासको इलाकामा आउने गरेका छन् ।

सुपौलबाट महेश लगायत कोशी ब्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहितका स्थानबाट छठ मनाउन व्रतालु आएका छन् । ‘५ सालमाथि भएछ फेमिलीके साथ आएको छु’ हिन्दीमिश्रित नेपालीमा उनले भने, ‘नेपालमे जब हामी पूजा गर्न आएको छ हमारा पोडसी भी आएको छ ।’

कोशी नदीलाई पनि गंगाकै अंश मानिन्छ । गंगा नदी जान नसक्ने अधिकांश भारतीयहरू नेपाल तर्फ आएर कोशी नदीबाट छठ पूजा गर्न थालेका हुन् । गंगा नदी टाढा पर्ने अनि भारत तर्फ अलि कोशी नदीको स्वरूप छरिएकाले कोशी ब्यारेजमा आएर छठ पूजा मनाउन थालेको भारतको फारबिसगञ्ज घर बताउने सायरा सिंह बताउँछिन् । उनका अनुसार धेरै आफन्तहरूले नेपाल आएरै चाड मनाएकाले आफूहरु पनि यतै आउन थालेको उनले बताइन् ।

छठ पर्वले सांस्कृतिक तथा सभ्यताको रूपमा नेपाली र भारतीय नागरिकहरूलाई कोशी नदीको सहायताले एकआपसमा जोडेको छ । भारतको विहारबाट मात्र होइन उत्तरप्रदेशबाट पनि धेरै व्रतालुहरू आउने गरेका छन् ।

नेपालमा मात्र होइन भारतमा समेत छठ मनाउने सङ्ख्या ठूलै रहेको छ । काठमाडौंबाट दशैँमा घर फर्किँदा गाडीमा सिट नपाइने समस्या जस्तै भारतमा पनि छठको समयमा घर फर्किन हम्मे पर्ने गरेको महेशले बताए ।

दिल्लीमा काम गर्ने महेशलाई छठको बेला घर आउन खोज्दा निकै समस्या भएको उनले बताए । अलि महङ्गो मूल्य मूल्यको टिकट काटेरै भए पनि छठ मनाउन आउन पाएकोमा उनी खुशी देखिन्थे ।