इटहरीः देशका विभिन्न भागमा जारी मनसुनी वर्षाका कारण नदीनालाहरुको जलस्तर बढ्ने भएको छ ।

सप्तकोसी नदीका सातै वटा शाखाहरुमा पानीको बहाव उच्च हुने हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । यसका साथै कर्णाली, महाकाली र यसका सहायक नदीहरू तथा नारायणी र यसका सहायक नदीहरुको बहावमा पनि सामान्य परिवर्तन देखिनेछ । आज प्रदेश १ को ताप्लेजुङ र संखुवासभा प्रदेश २ को सप्तरी, सिराह, धनुषा, महोत्तरी, वाग्मती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट, र धादिङ, गण्डकी प्रदेशको लमजुङ, बाग्लुङ र पर्वत भएर बहने स–साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको प्रक्षेपण रहेको छ ।

लुुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ्ग, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कंचनपुर, डोटी र डडेलधुरा भएर बहने स–साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।