काठमाडौँः नेपाल प्रहरीले काठमाडौंको गोंगबुबाट पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भनिने विपिन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोंगबु बीजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शंका लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्रहरीले एकथान पेस्तोल, एकथान म्यागजिन, पाँच राउन्ड गोली, दुईथान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए । -रासस