इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र आन्दोलनरत नेपाली कांग्रेस इटहरी उपमहानगर समितिबीच चार बुँदे सहमति भएको छ ।

सहमतिसँगै नेपाली कांग्रेसले मेयरको कार्यकक्षमा लगाएको ताला खोलिएको छ । साउन २७ गते एक जना सेवाग्राहीलाई मेयर चौधरीले उपमहानगर कार्यालयमा थुनेका थिए । सरकारी जग्गा अतिक्रमण गरी घर बनाएको आरोपसहित एक साताभित्र घर भत्काउने कागजमा सहीछाप गर्न दबाब दिँदै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा वडा नम्बर ४ का स्थानीय यामप्रसाद ढकाललाई मेयर चौधरीले थुनेका थिए । मेयरको आदेशमा नगर प्रहरीद्वारा थुनिएका ढकाललाई प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको आदेशमा परिवार र प्रहरीको रोहवरमा बाहिर निकालिएको थियो । सहीछाप गर्न नमानेको भन्दै मेयर चौधरीले करिब तीन घण्टा सेवाग्राहीलाई गैरकानूनी रुपमा बन्धक बनाएको भन्दै नेपाली कांग्रेस इटहरी उपमहानगर समितिले सोही दिन मेयरको कार्यकक्षमा तालाबन्दी गरिदिएको थियो । तालाबन्दी गरेको भोलिपल्ट मेयरलाई कार्यकक्षमा प्रवेश निषेध गर्नेगरी कांग्रेसले धर्नासमेत दिएकोमा मेयर चौधरी कार्यालयमा उपस्थित नै नभएपछि उनीहरु फिर्ता भएका थिए ।

आज भएको सहमति अनुसार मेयर चौधरीले सेवाग्राही यामप्रसाद ढाकालप्रति भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा नागरिक र सेवाग्राहीप्रति यस्तो व्यवहार नदेखाउने भएका छन् । यसैगरी, सार्वजनिक, ऐलानी, खोला वा पैनीमा व्यक्ति वा संघ संस्थाले अतिक्रमण गरेको जमिन कानून अनुसार कसैप्रति व्यक्तिगत वा राजनीतिक पूर्वाग्रह नराखी उपमहानगरपालिकामातहत ल्याई संरक्षण गर्ने कुरामा सहयोग गर्न नेपाली कांग्रेसले प्रतिबद्धता जनाएको छ । यसैगरी, मेयर चौधरीले सम्पूर्ण नागरिक तथा कर्मचारीप्रति सम्मानित, अनुशासित, भद्र एवं नागििरकमैत्री व्यवहार गर्न सहमति जनाएका छन् । सहमतिसँगै मेयरको कार्यकक्षमा लगाएको ताला खोलेको नेपाली कांग्रेसले अन्य समस्या वार्ता र सम्वादका माध्यमबाट हल गर्ने कांग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेलले जानकारी दिए ।

itahari sahamati.