काठमाडौँः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युतको बिलमा समेत लाखौं अनियमितता भएको पाइएको छ । वैशाख ०७५ देखि पुष ०७६ सम्म १८ महिनाको अवधिमा विद्युत महसुलको रकम ग्राहकबाट उठाएर करिब आधा दर्जन कर्मचारीले आफ्नै खातामा जम्मा गरेको पाइएको हो । प्रतिष्ठानमा कार्यरत विद्युत शाखाका प्रमुख नेत्रबहादुर खड्का, त्यही शाखामा कार्यरत अधिकृत तेजनारायण साह, मिटर रिडरद्धय रोशन अधिकारी, रविन्द्र विष्ट, हेल्पर सुमित्रा राई र आर्थिक प्रशासन महाशाखामा कार्यरत इन्दिरा कार्कीले विद्युत महसुलको रकम ग्राहकबाट उठाएर प्रतिष्ठानको बैंक खातामा जम्मा नगरी हिनामिना गरेका हुन् ।
प्रतिष्ठानभित्र सञ्चालित टेक्सन भोजनालय, स्टाफ क्यान्टिन र माउन्ट नेपालसमेतले नियमित विद्युतको महसुल तिरिरहेको तर सम्बन्धित शाखाका कर्मचारीहरुले हिनामिना गरेको भन्दै १७ पुस ०७६ मा प्रतिष्ठानका तत्कालीन कार्यवाहक कुलपति प्रा.डा. गुरुप्रसाद खनाल समक्ष निवेदन दिएका थिए । उनीहरुले निवेदन दिएको तीन दिनपछि २० पुस ०७६ मा कार्यवाहक कुलपति खनालले प्रतिष्ठानमा कार्यरत प्रा.डा. बैकुण्ठराज अधिकारीको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरेका थिए । छानविन समितिमा डा. विष्णु पोखरेल, रमेशकुमार पण्डित (डेपुटी मेनेजर आर्थिक प्रशासन महाशाखा) र अधिवक्ता अवइन्द्र निरौला (कानूनी सल्लाहकार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) सदस्य थिए ।
समितिले २१ पुस ०७६ बाट छानविन प्रक्रिया सुरु गरेको थियो भने १६ चैत्र ०७६ मा प्रतिवेदन बुझाएको थियो । छानविनका क्रममा पवन गर्ग (एन् ःभ्क्क् तथा न्थबलभ ऋबलतभभल) अशोक गोयल–नितु अग्रवाल (किराना पसल), गणेश शर्मा (सर्जिडेण्ट हाउस), विरेन्द्र ठाकुर (चन्द्रमा हेयर कटिङ्ग), मेहन सुनुवार (माउन्ट नेपाल), रोमन श्रेष्ठ (स्टाफ क्यान्टिन), खड् थापा मगर (डेण्टल क्यान्टिन), कृष्णकाज राई (मेस नं. ९), किरण योङहाङ्ग (मेस नंं. ८), जितबहादुर बि.क. (मेस नंं. ७), जुनकला राई (मेस नंं. ६), नारायण श्रेष्ठ (मेस नंं. ५), मोना ताम्राकार (मेस नंं. ४), रुपा राई (मेस नंं. ३), मनोजकुमार थापा (मेस नंं. १), टेकबहादुर लोहनी (टेक्सन भोजनालय), आशिष श्रेष्ठ (सुविसु) लगायतले आफूहरुले विद्युत शाखाका अधिकृत तेजनारायण साहलाई महसुल तिरिरहेको मौखिक तथा लिखित जवाफ दिएका थिए । उनीहरुले साहले विद्युत महसुलको भुक्तानी पेमेन्ट रिसिप्ट दिएको विवरण समेत पेश गरेका थिए ।
तर, ग्राहकबाट महसुल उठाएर रकम प्रतिष्ठानको बैंक खातामा जम्मा गरिएन । उनीहरुले ग्राहकलाई एउटै बिआर नं. को पेमेन्ट रिसिप्ट दिने गरेका त रहेछन् । तर, नै, विद्युत विभागका साह र आर्थिक प्रशासन महाशाखाकी इन्दिरा कार्कीले दिएको पेमेन्ट रिसिप्ट नंं. समेत फरकफरक पाइएको थियो । प्रतिष्ठानभित्र व्यवसाय गरिरहेका ग्राहकहरुबाट उनीहरुले ३३ लाख २० हजार २ सय २६ रुपैयाँ पैसा उठाएर प्रतिष्ठनको खातामा जम्मा नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेका थिए । यसबाहेक असार ०७६ देखि मंसिरसम्म प्रतिष्ठानलाई पौने तीन लाख घाटा लगाएका थिए ।
छानविन समितिले विद्युत महसुल हिनामिना गर्ने कर्मचारीहरुलाई कारबाही गर्न सिफारिस गरेको थियो । समितिले बुँदा नं. ९ मा प्रष्ट लेखेको थियो, ‘विद्युत शाखाका अधिकृत श्री तेजनारायण शाहको काम कारबाहीले प्रतिष्ठानको नियमावली २०५५ को दफा १०.७ (२) को (घ) र (ङ) आर्कषित हुने देखिएकाले प्रतिष्ठानको नियमावली २०५५ को दफा १०.७ (१) को (ख) र (घ)÷(ङ) बमोजिम कारबाही गर्दा उपयुक्त हुने ।’
आर्थिक प्रशासन महाशाखामा कार्यरत इन्दिरा कार्कीप्रति उल्लेख थियो, ‘आर्थिक प्रशासन महाशाखाकी ईन्दिरा कार्की आफ्नो कर्तव्यप्रति उदासिन रहेको र विद्युत महसुलबापत प्राप्त भएको रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको देखिएकोले प्रतिष्ठानको नियमावली अनुसार कारबाही गर्न उपयुक्त हुने ।’ बेइमानीको हद कतिसम्म भने कार्कीले विद्युत महसुलबापत उठेको प्रतिष्ठानको खातामा जम्मा गर्नु पर्ने ८ लाख रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको थियो ।
विद्युत महसुलको पेमेन्ट रिसिप्टमा कार्कीले प्रमाणीकरण गरी सही गरेको बिआर नं. १० को संख्यामा हुनु पर्नेमा ११ वटा थियो ।
ग्राहकबाट विद्युत महसुल उठाएर भ्रष्टाचार गर्ने कर्मचारीहरुले कम्प्युटरको सफ्टवेयर समेत बिगारेका थिए । साहले चलाउने कम्प्युटरको एउटै ‘आइपी एड्रेस’ बाट सबैतिर ‘लगइन’ गरिएको थियो । महसुल उठाएर हिनामिना गर्नेमा मुख्य दोषी साह र कार्की प्रमाणित भएका थिए । भलै अन्यको भूमिका पनि धेरथोर थियो नै ।
विद्युत महसुलको रकम हिनामिनामा आफूहरुले दिएको प्रतिवेदन कार्यान्वयन नै नभएको छानविन समितिका सदस्य डा. विष्णु पोखरेल नेपालवाचलाई बताउँछन् । ‘हामीले दिएको प्रतिवेदन अझै पनि कार्यान्वयन भएको छैन । विद्युत महसुल रकम हिनामिना गर्ने इन्दिरा कार्कीलाई आर्थिक प्रशासन शाखाबाट अर्को शाखामा सरुवा गरेर जोगाइएको छ,’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धीकरण अभियान, २०७८ संयुक्त संघर्ष समितिका सह संयोजक रहेका डा. पोखरेल भन्छन्, ‘वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा पाइला–पाइलामा अनियमितता छ । तर, अनियमिततामा संलग्नहरुलाई कारबाही गर्न सरकार अझै पनि खुट्टा कमाइरहेको छ ।’ -नेपाल वाचबाट