धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेको जनप्रतिनिधि तथा राजनीतिक दलका नेता सहितको टोलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त बेथितिको बारेमा ध्यानाकर्षण गराएको छ ।
मेयर राईसहित गएको प्रतिनिधिमण्डलले शुक्रबार वरिष्ठ नेता नेपालको निवासमा गएर प्रतिष्ठानको बारेमा ध्यानाकर्षण गराएको हो । वरिष्ठ नेता नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिप्रति आफू चिन्तित रहेको बताए । छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा तत्काल सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै वरिष्ठ नेता नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतले सरकारलाई खबरदारी गर्ने प्रतिनिधिमण्डललाई वचन दिएका छन् । प्रतिवेदनमा र आन्दोलनरत पक्षसँग सरकारी टोलिले गरेको सम्झौतामा बीपीलाई बर्बादीबाट जोगाउन उपकुलपतिसहित चारै जना पदाधिकारीलाई हटाउने उल्लेख छ । मेयर तिलक राईले छानबिन समितिको प्रतिवेदन हस्तान्तरण गर्दै बीपी प्रतिष्ठानलाई बर्बाद हुनबाट जोगाउन नेता नेपाललाई भूमिका खेल्नका लागि आग्रह गरेका थिए । यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पैसा दिएर उपकुलपति नियुक्त गर्ने प्रथा सहितको ऐन संशोधन गर्ने कुरामा जनता समाजवादी पार्टीका नेताहरुले पहल गर्ने बताएका छन् ।
मेयर राईको नेतृत्वमा गएको प्रतनिधिमण्डललाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र नेता रकम चेम्जोङले वचन दिएका हुन् । पैसा दिएर उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने प्रथाकै कारण बीपी प्रतिष्ठान धरासयी बन्दै गएको अध्यक्ष यादवले बताए । उनले पैसाकै कारण प्रतिष्ठानमा क्लिनिकका डाक्टर उपकुलपति बनेको उल्लेख गरे । अध्यक्ष यादवले छानबिन समितिको प्रतिवेदन बुझिसकेको अवस्थामा तत्काल सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको बताए । वरिष्ठ नेता राईले बीपीमा तत्काल हस्तक्षेप गरेर व्यवस्थापनमा आमूल परिवर्तन नगरे बीपीको हालत जनकपुर चुरोट कारखानाको जस्तो हुने भएकोले आफूले गम्भीर रुपमा हेरिरहेको बताए ।
उनले प्रा.डा लोकविक्रम थापा उपकुलपति हुँदा बीपीमा अदिवासी जनजाति विद्यार्थी कोटा थप गर्ने निर्णय गरिएकोमा पछि आएका उपकुलपतिहरुले लागु नै नगरेको बताए । वरिष्ठ नेता राई सहकुलपति रहेको सिनेट सभाले अदिवासी जनजातिलाई ३ वर्गमा राखेर वर्र्षेनी ३ जनालाई कोटामा भर्ना लिइने नियम पारित गरेको थियो । टोलीमा मेयर राईसँगै संघीय सांसद जयकुमार राई, स्वतन्त्र मजदुर संघका संघीय अध्यक्ष भिमज्वाला राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, एमाले जिल्ला अध्यक्ष रमेश बस्नेत, एमाले धरान अध्यक्ष नारायण सुवेदी, जसपा धरान अध्यक्ष ताजुब लिम्बू, नेपाली कांग्रेस सचिव श्याम पोखरेल, माओवादी केन्द्रका नेता चोत्लुङ मुक्साहाङ मेन्न्याङ्बो, अग्रज पत्रकार हर्ष सुब्बालगायत गएका थिए ।