इटहरीः प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाएकी छन् ।
आश्रममा आश्रित ८५ जनासँग बसेर उनले जन्मदिन मनाएकी हुन् । मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाएकी थिइन् । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन् । मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताइन् । उनले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भइरहेको बताइन् ।
मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराएकी थिइन् । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको थियो ।