इटहरीः साताको दोस्रो दिनको कारोबारबाट नेपालको शेयर बजार परिसूचक नेप्सेमा ५ अङ्कको वृद्धि भएको छ ।
आइतबारको कारोबारमा परिसूचक घटेर कारोबार रकममा भने हालसम्मकै ‘हाई टर्नओभर’ बनाएको नेप्सेमा सोमबार भने १५ अर्बभन्दा माथिको कारोबार भएको छ । अघिल्लो दिन रन्थनिएको बजार सोमबार भने सम्हालिएको विश्लेषण गरिएको छ । आइतबार निकै उतारचढाव आएको बजार सोमबार ५.७२ अङ्कले बढेर ३१६०.०५ विन्दुमा आइपुगेको छ । मौद्रिक नीतिका बारेमा लगानीकर्ताहरुमा केही अन्योल रहँदा आइतबार बजार केही अस्थिर बनेको थियो । मौद्रिक नीतिमा शेयर बजारका लागि प्रत्यक्ष नकारात्मक असर गर्ने विषय केही नभएपनि लगानीकर्ताका नेताहरुले शेयर धितो कर्जाको मार्जिनलाई लिएर बजारलाई प्रभाव पार्ने काम गरिरहेको विश्लेषण कतिपयको छ ।
बजारका ठूला भनाउँदा लगानीकर्ताले भने १२ करोडको शेयर कर्जा सीमालाई लिएर असन्तुष्टि जनाएका छन् । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले शेयर धितो राखेर एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरिदिएको छ । ४० लाख लगानीकर्ताहरु डिम्याट खातासहित प्राथमिक बजारमा देखिएका छन् भने झण्डै १० लाखको हाराहारी लगानीकर्ता नियमित अनलाइनमा कारोबार गर्ने गर्छन् । यस आधारमा पर्याप्त मात्रामा नयाँ लगानीकर्ता भित्रिएका र दोस्रो बजारमा उनीहरुको भूमिका पनि प्रभावकारी देखिन थालेको प्रष्ट भएको छ । ठूला लगानीकर्ताको नियन्त्रणमा मात्र बजार नरहेका कारणले पनि बजारमा खासै ठूलो प्रभाव परेको देखिँदैन ।
लगानीकर्ताको मागलाई अर्थ मन्त्रालयले पूँजी बजारलाई बिग्रन नदिने प्रतिबद्धता दिएको छ । अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्ताको आत्मबलमा केही मात्र भएपनि वृद्धि हुने अपेक्षा गरिएको छ । सोमबारको शेयर बजारमा २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजारभन्दा बढी कित्ता शेयरको कारोबार भएको छ । १३ मध्ये ७ वटा समूहको सूचक हरियो बनेको छ । अघिल्लो दिन ३ समूहको सूचक मात्र हरियो थियो भने बाँकी नकारात्मक सर्किट लागेको देखिन्थ्यो । सोमबार भने उत्पादनमूलक समूहमा सबैभन्दा बढी चमक आएको छ । ५ कम्पनीको शेयर मूल्य सर्किट लाग्नेगरी बढेको छ ।