बेलबारी/ मोरङको बेलबारी नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । सन् २०१७ सम्ममा नेपाललाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि खुला दिसामुक्तको काम द्रुत गतिमा अघि बढेको थियो ।

बेलबारीका १२ हजार ८ सय ९२ घरमा शौचालय बनेपछि खुला दिसामुक्त घोषणा गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । मातृभूमि महिला समाज तथा सामुदायिक विकास समाजलगायतका संस्थाको प्राविधिक सहयोगमा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

यसैगरी, बेलबारी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना समेत घोषणा गरेको छ । सो अवसरमा ४ जना महिला स्वयम्सेविकालाई कदरपत्रसहित बिदाइ गरिएको थियो । उमेर हदका कारण पहिलो पटक यसरी बिदाइ गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

ओली सरकार मेस्सीजस्तै
कार्यक्रममा बोल्दै सांसद भानुभक्त ढकालले ओली नेतृत्वको सरकारलाई अर्जेन्टिनाका खेलाडी मेस्सीसँग तुलना गरेका छन् । वृद्धभत्ता नबढाएको भनी सरकारको चौतर्फी विरोध भइरहेको बेला विश्वकपमा मेस्सीले ३ गोल भन्दा बढी लगाउँछ भन्ने सबैको अनुमान सही नभएजस्तै अवस्थामा अहिलेको सरकार रहेको बताए ।

गोल नगर्दैमा मेस्सीलाई खेलाडी होइन भन्न नपाएजस्तै ओली सरकारले काम गरेन भन्न नपाइने उनको भनाइ थियो । ५ वर्षभित्रमा वृद्धभत्ता ६ हजार बनाएर छाड्ने उनले बताए ।