विराटनगरः पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई उनकै कर्मभूमि विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।
८२ वर्षीय अधिकारीलाई आज विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, प्रदेश मन्त्रिमण्डल र प्रदेशसभा तथा सङ्घीय प्रतिनिधिसभाका संसद सदस्यको उपस्थिति रहेको थियो ।

अधिकारीको योगदानको कदर गर्दै साढे २ सयभन्दा बढी सङ्घ–संस्थाको पहलमा नागरिक अभिनन्दन गरिएको हो । पूर्वमन्त्री अधिकारी विराटनगरस्थित एलिट क्लबको पूर्व महासचिव तथा मोरङ बारको नेतृत्वकर्ता पनि थिए । मोरङबाटै २०४८, २०५१ र २०५६ मा अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अधिकारी २०७० मा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधि छानिएका थिए ।

प्रदेश १ प्रदेश प्रमुख तुम्बाहाङले विशेष कदरपत्र, मुख्यमन्त्री राईले फूलमाला, अबिर तथा टोपी र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मायाको चिनो दिई अधिकारीलाई सम्मान गरेका थिए । बाट उहाँको सम्मान गर्नु भएको थियो ।
अधिकारीले आफ्नो राजनीतिक कर्मभूमि विराटनगरमा सम्मानित हुन पाउँदा उमेरको हद बिर्सेको बताए । उनले आफ्नो उचाइमा मोरङको माटोले ऊर्जा दिएको स्मरण गर्दै ज्येष्ठ नागरिकको सम्मानमा आफैंले ल्याएको वृद्धभत्ताको कार्यक्रम आफ्नो अनिनन्दनसँगै सार्थक भएको बताए ।

आफ्नो सम्मानले जीवनलाई अर्थपूर्ण बनाएको उनको भनाइ थियो । ‘अबका २० वर्षमा हामी नेपाली र हाम्रो देश नेपाल समुन्नत बनिसक्नेछ’ अधिकारीले अभिनन्दनपछि आफ्ना धारणा राख्दै भने, ‘नेपाली राजनीतिमा सक्रिय नेतृत्वले बनारसमा देखेको सपना क्रमशः पूरा हुँदैछ; तर सहमतीय राजनीतिक संस्कार अझै कायम रहनु पर्दछ ।
पूर्वउपप्रधानमन्त्री अधिकारी पहिलो पटक २०५१ साल कात्तिक २९ गते पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारको पालामा अर्थमन्त्री भएका थिए । त्यसपछि बजेट प्रस्तुत गर्ने क्रममा उनले ज्येष्ठ नागरिकको सम्मानस्वरूप वृद्धभत्ता दिने कार्यक्रम अघि सारेका थिए ।

प्रमुख अतिथि तुम्बाहाङले नेपालको मुहार फेर्ने राजनीतिक दिशा र कार्यक्रम ल्याउन सफल नेतालाई ज्येष्ठ मात्रै नभई सर्वोत्कृष्ट सम्मानले अनिनन्दन गर्दा पनि कम हुने बताए । ‘इमान्दार र स्वच्छ छविको राजनीति गर्नु भएका व्यक्तिलाई अभिनन्दन गर्नु आफैं अभिनन्दन हुनुजतिकै सम्झेको छु’ तुम्बाहाङले भने, ‘उमेरले ज्येष्ठ नागरिकको हैसियतमा पु¥याए पनि अधिकारीको ज्ञान, अनुभव अझै जरुरी रहेको बताए ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले असल संस्कार र संस्कृतिको थालनी गरेर नेपालीको मनमनमा बस्न सफल नेतामध्येका अधिकारी राजनीतिक प्रेरणाको अभिभावक भएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री मुकुन्द न्यौपानेले अधिकारीको कार्यक्रमले ज्येष्ठ नागरिकको जीवन सहज भएकाले आज उनलाई समेत ज्येष्ठ नागरिकको हैसियतमा विशाल सम्मान प्रदान गर्नु परेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग वाणिज्य सङ्घ मोरङका अध्यक्ष पवन सारडा, विराटनगरका अग्रज एवं ज्येष्ठ नागरिक रमाप्रसाद रिजाललगायतले अधिकारीको स्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना दिएका थिए ।