बेलबारीः गत शुक्रबार अपराह्न्न बेलबारी – २ लालभित्तीमा रहेको रमिते पर्यटकीय क्षेत्रको दृश्य अनौठो देखिन्थ्यो ।

४ हेक्टर क्षेत्रफलमा फैलिएको पर्यटकीय क्षेत्रको दक्षिणतर्फ एउटा समूह पिकनिकमा रमाइरहेको थियो । उत्तर (भ्यु टावर निर्माणस्थल) तर्फको पाटोमा एक हुल मानिसहरू यत्रतत्र छरिएर बसेका थिए । उनीहरूका हातमा एक थान फायल र त्यसमा केही थान कपीका खाली पानाहरू थिए । उनीहरू त्यहाँ केही लेखिरहेका भेटिए ।

त्यो दृश्य देख्दा कुनै गैरसरकारी संस्थाको लिखित परीक्षा वा कुनै कलेजका छात्रछात्राहरू अनुसन्धानमा व्यस्त रहेको भान हुन्थ्यो । या यस्तै अरु कुनै परीक्षको झल्को मिल्थ्यो ।
रमिते पर्यटकीय क्षेत्र विकासको मातृ संस्था रमिते सामुदायिक वनका अध्यक्ष एवम् रमिते पर्यटकीय क्षेत्र विकासका अभियन्ताद्वय प्रेमबहादुर राई र राजु परियार त्यो दृश्यको रमाइलो लिइरहेका थिए । उनीहरूको साथमा थिए लालभित्ती बचत ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम न्यौपाने लगायतका व्यक्ति । उनीहरू सो दृश्यलाई क्यामरामा कैद गर्न लालायित देखिन्थे । उनीहरू मात्र नभएर फलैंचामा बसेर त्यो दृश्यको रमाइलो लिनेको सङ्ख्या पनि कम थिएन ।
तर त्यो दृश्य न गैरसरकारी संस्थाको परीक्षाको थियो न कुनै कलेजका अनुसन्धानमा आएका छात्रछात्राको । त्यो त बेलबारी साहित्य विकास समितिद्वारा आयोजित साहित्य परिक्रमा कार्यक्रममा साहित्य सिर्जनामा व्यस्त थिए ।
लामो समयदेखि बेलबारीको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बेलबारी साहित्य विकास समितिले एउटा फरक खालको कार्यक्रम आयोजना गरेको थियो । ‘साहित्य परिक्रमा’ मार्फत् त्यहाँ स्रष्टाहरूलाई एकीकृत गराएर निश्चित स्थलमा सिर्जना गराउने एउटा नौलो अभ्यास थियो त्यो ।

विभिन्न क्षेत्रका साहित्यकारको जमघट
त्यहाँ लिम्बू भाषाका लेखक गोविन्द चोङवाङ लिम्बूदेखि लिएर धिमाल भाषामा मात्र सिर्जना गर्दै आएका बेलबारीका कविन्द्र धिमाल तथा पछिल्लो समयमा गीत सङ्गीतमा आफ्नो छुट्टै छाप बनाउन सफल कलाकार सञ्जीव धिमालसमेत आफ्नो सिर्जनामा व्यस्त थिए ।
दृष्टिहीन कविहरू साकी सिद्दिकी र गोविन राईले समेत त्यहाँ ब्रेल लिपीमा आफ्ना कविता लेखेर सुनाएका थिए ।
बेलबारी नगरपालिकाकी उपप्रमुख एवम् स्रष्टा तारा पराजुलीदेखि लिएर स्रष्टाहरू इरान राई, जेबी थुलुङ, धनजीत पराजुली, तिला लेकाली, रेखा सुवेदी, केफास आस्था, यज्ञप्रसाद सुवेदी सुसेली कार्यक्रममा सहभागी थिए ।
त्यस्तै, साहित्यकार बादलदेवी चाम्लिङ, शिव छाङ्छा राई, सन्देश तुम्बापो, हीरा खड्का, कल्पना भावुक, उमा सिंजापती, सुमन राई, सन्देश तामाङ, बलराम कार्की, राजेन्द्र कार्की लगायत थुप्रै स्रष्टाको उपस्थिति रहेको थियो ।

वि. सं. २०६६ सालमा स्थापना भएको सो साहित्यिक संस्थाले बेलबारीलगायत आसपासको क्षेत्रको साहित्यिक विकासमा विशेष योगदान दिँदै आएको छ ।
सो संस्थाले भदौ महिनादेखि स्थानीय पर्यटनलाई टेवा दिने अभिप्रायका साथ एउटा फरक कार्यक्रम साहित्य परिक्रमा सुरु गरेको छ । यसभन्दा अघि बेतना र धनपाल गढीमा गएर यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न गरिसकेको सुनगाभा साहित्य समाजका अध्यक्ष एवम् आयोजक संस्थाका सचिव धनजीत पराजुली बताउँछन् ।
नयाँ तथा पुराना स्रष्टाबीच भेटघाट तथा परिचय आदानप्रदान गर्न र नयाँ सिर्जना गर्न अभिप्रेरणा जगाउने अभिप्रायका साथ यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ । कार्यक्रम सफल तथा प्रभावकारी देखिएको संस्थाकी अध्यक्ष रेखा सुवेदी बताउँछिन् ।
आयोजकले यस्ता कार्यक्रम गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि वा स्थानीय सरकारका प्रतिनिधिहरूलाई समेत साक्षीको रुपमा राख्ने गरेको छ । रमितेको कार्यक्रममा पनि बेलबारी – २ का अध्यक्ष घनश्याम गौतम तथा नगरकार्यपालिका सदस्य खिना थापाको उपस्थिति रहेको थियो ।
साहित्यप्रति विश्वास कम भइरहेको र ‘कपी पेष्ट’ साहित्यले प्रश्रय पाइरहेको बेलामा सम्बन्धित स्थानमै गएर उतिखेरै सिर्जना गर्ने बानीको विकास गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको र यसलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।