इटहरीः दसैँ सरकारी जागिरे होस् या त निजी कम्पनीमा काम गर्ने जागिरे, लाहुरे, उद्योगी व्यापारी अनि सर्वसाधारण सबैले सकेसम्म धुमधामले मनाउने पर्व हो । हिन्दू धर्मावलम्बीहरुले दसैँलाई ठूलो महत्व दिएर मनाउँदै आइरहेका छन् । सरकारी कर्मचारीले दसैँ पेश्कीसहित ठूलै बिटो हात पार्छन् दसैँमा । नीजी क्षेत्रमा काम गर्नेले पनि दसँैलाई भनेर केही न केही राम्रै तलब लिएका हुन्छन् । यसरी गोजिभरि पैसा भएको बेला खर्च पनि टन्नै हुने गरेको छ दसैँमा । दसैँलाई खर्चको पर्व मात्र नबनाई हर्ष र मनोरञ्जनको पर्व बनाउन कसो गर्न सकिएला त ? देखासिकी र भड्किलो दसँैभन्दा परम्परा र सँस्कृतिलाई मान्दै केही बचत अनि पारिवारिक भेटघाट र हर्षोल्लासको पर्व बनाउन के गर्न सकिन्छ त ? दसैँमा हामीले यो अङ्कमा दसैँ विशेष बनाउन केही बैंकर र व्यवसायीलाई सोधेका छौँ । उनीहरुको जवाफ जस्ताको तस्तैः
सुरेश घिमिरे
शाखा प्रबन्धक
मेरो माइक्रोफाइनान्स, बालग्राम शाखा इटहरी
दशैमा देखासिकी बढ्दै गएको छ । आ– आफ्नो गच्छेअनुसार मानिनुपर्ने चाडलाई अर्कोले यो गर्यो, म पनि त्यही गर्छु भन्ने हिसाबले मानिँदा बढी खर्चालु हुन्छ । अहिलेको पुस्ताले फेसबुक, टिकटकमा देखाउनकै लागि पनि ठूलो खर्च गरेर दसँैलाई भड्किलो बनाउने गरेको पाइन्छ । साइकलमा हिँड्नेलाई दसैँको अवसरमा मोटरसाइकल, मोटरसाइकलमा हिँड्नेलाई दसँैको अवसरमा कार र कारमा हिँड्नेको अर्को ठूलो महत्वाकांक्षाले दसैँमा परम्परागत सँस्कृति लोप हुने अवस्थामा पुग्दैछ । पारिवारिक भेटलाई अर्थपूर्ण बनाउन सबै जनाको जमघटमा मदिरा नै पिउनुपर्छ भन्ने मान्यतालाई त्यागेर रमाइलो भेटघाट र पारिवारिक गफगाफ गरेर पनि दसैँ मनाउन सकिन्छ । सामान्य परिवार चलाउन पनि महङ्गीले आकाश छुँदा खर्चिलो भइरहेको समयमा दसैँमा नै सबै पैसा खर्च गर्नुपर्छ भन्ने मानसिकतालाई त्यागेर बचतमा पनि ध्यान दिएर दसैँलाई अर्थपूर्ण बनाउन सकिन्छ ।
दीपक खड्का
शाखा प्रबन्धक
मन्जुश्री फाइनान्स इटहरी शाखा
दसैँ आफँैमा हामी सबै हिन्दूहरुको लागि महत्वपूर्ण पर्व हो । महत्वपूर्ण पर्व भएकाले यसलाई उत्तिकै महत्व दिएर मनाइनुपर्छ । तर आफ्नो आयस्रोत अनुसार धेरै तडकभडक नदेखाई दसैँ मनाउन सकियो भने दसैँ अझै अर्थपूर्ण हुन्छ । दसैँको भोलिपल्ट ऋणको भारी लिएर दसैँको ऋण तिर्न हिँड्नु पर्दैन ।
गणेश बन्जारा
युवा व्यवसायी
न्यू बन्जारा कृषि फर्म तथा सालोम भेटेरिनरी
रामधुनी झुम्का
दसैँ परापूर्वकालदेखि हाम्रा पुर्खाहरुले मनाउँदै आएको चाड हो । यसलाई परम्परागत रितिरिवाज झल्कनेगरी मनाउन आवश्यक छ । यसलाई विसङ्गतितिर लगियो भने हाम्रो सँस्कृति धरापमा पर्न सक्छ । अहिलेको बदलिँदो परिवेश र समाजमा बदलिएको रहनसहनले वर्षमा एक पटक आउने दसैँ, तिहारजस्ता चाडपर्वहरु सँस्कृति नभई विकृतितिर गएको भान हुन्छ । दसैँलाई कसैले देखासिकी नगरी आफूसँग जे छ त्यसैलाई सदुपयोग गरेर मनाउनुपर्छ । अरुको देखासिकी गर्न थालियो भने हाम्रो आर्थिक अवस्था संकटमा पर्न सक्छ । हाम्रो महान चाडलाई सभ्य र भव्य बनाउनको लागि आफ्नो रितिरिवाजलाई जोगाउँदै आफ्नो स्रोत र साधानलाई परिचालन गरेर आफन्तसँग रमाइलो भेटघाट गरी आफूभन्दा ठूलाको आशीर्वाद लिएर दसैँलाई अझै सभ्य र भव्य बनाउन सकिन्छ ।