इटहरीः इटहरी ८ को वडा कार्यालयबाट कीर्ते नेपाली नागरिकता दिने प्रक्रियामा वडाध्यक्ष रोहित चौधरीको प्रत्यक्ष संलग्नता भएको पाइएको छ । कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरीले वडाध्यक्ष रोहित चौधरीकै हस्ताक्षर र मुचुल्काको रोहबरको आधारमा नागरिकता सिफारिश गरेको पाइएको हो ।

गत कात्तिक ७ गते वडा कार्यालयबाट कीर्ते नागरिकता दिन कार्यवाहक वडाध्यक्ष मात्रै नभएर स्वयम् वडाध्यक्ष पनि मुचुल्काको रोहबरमा बसेको पाइएको हो । गणेश हरिजनलाई कीर्ते नागरिकता सिफारिश गर्ने प्रक्रियामा वडाध्यक्ष नै सामेल भएको पाइएको छ ।

यस्तो छ कीर्ते नागरिकता प्रक्रियामा वडाध्यक्षको संलग्नता
कीर्ते नागरिकताको सिफारिश यही कात्तिक ७ गते वडा कार्यालयबाट भयो । वडाध्यक्ष रोहित चौधरी भारतीय राज्य सिक्किम गएको अवस्थामा कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरी वडाध्यक्ष थिए । कार्यवाहक अध्यक्षको सिफारिशमा कीर्ते नागरिकता बन्यो कात्तिक १२ गते ।

यो प्रक्रियामा कार्यवाहक वडाध्यक्षको औपचारिक भूमिका देखिए पनि सिफारिश अघिका सबै प्रक्रियामा वडाध्यक्ष रोहित चौधरीकै भूमिका देखिन्छ । जस्तै, असोज १७ गते जन्मदर्ताको लागि आएका हरिजनको निवेदनको तोक वडाध्यक्ष चौधरीले लाएका छन् । असोज १५ गते हरिजनले जन्मदर्ताको लागि निवेदन दिएका थिए । त्यसको पर्सिपल्ट वडाध्यक्ष चौधरीले जन्मदर्तामा तोक लगाएका हुन् ।

विभिन्न व्यक्ति राखेर गरिएको सर्जिमिनमा समेत वडाध्यक्ष चौधरी प्रत्यक्ष जोडिएका छन् । सर्जिमिनमा सहभागी सीतादेवी हरिजन, जत्नीदेवी मोची, सीता चमार, श्यामु मोची र बासुदेव हरिजन थिए । उनीहरूको सर्जिमिनको रोहबरमा वडाध्यक्ष रोहित चौधरी आफैँ बसेका थिए ।

वडाध्यक्षको तोकमा भएको जन्मदर्ता, वडाध्यक्षकै रोहबरमा बनेको मुचुल्का टेकेर आफूले नागरिकताको सिफारिश गरेको कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरी बताउँछन् । उनी भन्छन्, ‘वडा अध्यक्षज्यू सिक्किम जानुभएको थियो । उहाँ अध्यक्ष हुँदा गरेको कागजी प्रमाणका आधारमा मैले सिफारिश दिएको हुँ ।’

आफू फस्ने खतरा देखेपछि वडाध्यक्ष पुगे जिल्ला प्रशासन
कीर्ते नागरिकता प्रकरणका दोषीहरू भन्दै वडाध्यक्ष रोहित चौधरीले ४ जनालाई जिल्ला प्रशासनमा बुझाएका थिए । बासुदेव हरिजन, मूर्ति हरिजन, सीता हरिजन र सीता चमारलाई वडाध्यक्ष चौधरीले जिल्ला प्रशासन पु¥याए ।

आइतबार उनीहरूलाई लिएर ११ बजे चौधरी इनरुवामा रहेको जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चौधरीसँगै काङ्ग्रेससमर्थित इटहरीका केही नेता पनि जिल्ला प्रशासन पुगेका थिए । पार्टीका नेतासहित जिल्ला प्रशासनमा जाने अनि सर्जिमिनमा बस्ने स्थानीय विपन्नलाई मात्रै लाने काम गरेपछि घटना झनै रहस्यमय बनेको यो घटनालाई नजिकबाट हेरेका इटहरी काङ्ग्रेसका एक नेता बताउँछन् ।

उनी भन्छन्, ‘नागरिकता कीर्ते बनाउन सर्जिमिन गर्ने स्थानीयजस्तै दोषी त सर्जिमिनको रोहबर गर्ने र सिफारिश गर्ने जनप्रतिनिधि पनि छन् । तर, स्थानीयलाई मात्रै थुनिएको छ ।’

नागरिकता सिफारिशमा दलालको भूमिकामा रहेका भनिएका चन्दन हरिजन भने फरार भएको स्वयम् वडाध्यक्ष चौधरी बताउँछन् ।

जनप्रतिनिधिको दोष छैनः वडाध्यक्ष चौधरी
वडाध्यक्ष रोहित चौधरी कीर्ते नागरिकता काण्डमा जनप्रतिनिधि दोषी नभएको तर्क गर्छन् । प्रहरीले पठाएको मुचुल्काको आधारमा सिफारिश गरेकाले जनप्रतिनिधि दोषी नभएको चौधरीले बताए । देशभर कीर्ते नागरिकता सिफारिश गर्ने जनप्रतिनिधिहरुलाई कारबाही हुने तर इटहरीमा मुचुल्का लिनेहरूलाई मात्रै किन दोषी भन्ने प्रश्नमा वडाध्यक्ष चौधरीले भने, ‘हामीले भएका कागजको आधारमा सिफारिश गरेको हो ।’

घटनामा संलग्न सबै दोषी हुन्ः पूर्व सांसद भण्डारी
वडाध्यक्ष चौधरीले आफूहरू निर्दोष भएको बताइरहँदा पूर्व सांसद तथा प्रदेश १ को सरकारका कानुनी मस्यौदा सल्लाहकार रेवतीरमण भण्डारी भने सबै दोषी भएको बताउँछन् । कीर्ते नागरिकता सिफारिश दिने वडा कार्यालयका जनप्रतिनिधि, कीर्ते मुचुल्कामा रोहबरमा बस्ने वडाध्यक्ष र नागरिकता लिन सहभागी र सहयोगी सबैको दोष हुने भण्डारीले बताए । उनले भने, ‘दोषको मात्रा थोरधेर मात्रै हो । यो प्रकरणमा सबै कानुनी सजायका भागीदार हुन्छन् ।’